काठमाडौं ,१८ बैशाख//
विभिन्न स्थानबाट स्थानान्तरण गरिएका सुकुमवासीलाई अस्थायी रूपमा बसोबास गराउने गरी पाँच वटा स्थानमा व्यवस्थापन गरिएको छ।
आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासीका घर तथा टहरा भत्काइएपछि उनीहरूलाई वैकल्पिक स्थानमा स्थानान्तरण गरिएको हो।
उनीहरूलाई अस्थायी रूपमा ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवन मा राख्ने तयारी गरिएको छ।
स्थानान्तरणअघि सुकुमवासीको विवरण संकलनका लागि उनीहरूलाई दशरथ रंगशाला मा बोलाइएको थियो। हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा पुगेर आफ्नो विवरण दर्ता गराइसकेका छन्।
त्यहाँ सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरी को संयुक्त टोलीले विवरण संकलन गरिरहेको छ।
सरकारले उनीहरूको अस्थायी व्यवस्थापनपछि दीर्घकालीन समाधानतर्फ प्रक्रिया अघि बढाइने जनाएको छ।