असार ०९, रौतहट
रौतहट जिल्लामा सञ्चालन गरिएको “ट्राफिक सप्ताह २०८३” को अन्तिम दिन सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा चन्द्रनिगाहपुर बजारस्थित मुख्य चौकमा दीप प्रज्वलन गरी दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला प्रहरी कार्यालय गौर रौतहटको सहकार्य तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले “ट्राफिक सप्ताह २०८३” अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरीका विभिन्न इकाइका प्रतिनिधि, स्थानीय नागरिक, सवारी चालक, यातायात व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने तथा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए।प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले ट्राफिक सप्ताह केवल औपचारिक कार्यक्रम नभई सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियान भएको बताउँदै दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र पैदलयात्री सबैको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
उनले ट्राफिक सप्ताहको अवसरमा विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा राजमार्ग क्षेत्रमा सचेतनामूलक कार्यक्रम, माइकिङ, पर्चा वितरण, चालक स्वास्थ्य परीक्षण तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । जिल्ला ट्राफिक कार्यालयका अनुसार सप्ताहभर विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरिएको थियो।
साथै लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकहरूको परीक्षण गरी आवश्यक कानुनी प्रक्रिया समेत अघि बढाइएको थियो।प्रहरी निरीक्षक मगरले जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालेदेखि मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई सेवाप्रवाहमा कुनै कमजोरी नगर्न, सेवाग्राही तथा सवारी चालकसँग नम्र व्यवहार गर्न र कुनै पनि प्रकारको आर्थिक प्रलोभन वा दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिँदै आएका छन् ।
उनको नेतृत्वमा ट्राफिक नियम उल्लंघन गर्ने तथा लापरवाहीपूर्वक सवारी साधन चलाउने चालकमाथि प्रभावकारी कारबाही गरिएको छ। यसबाट सडक अनुशासन कायम हुनाका साथै सरकारी राजस्व संकलनमा समेत उल्लेखनीय वृद्धि भएको ट्राफिक प्रहरीको दाबी छ ।
ट्राफिक सप्ताह २०८३ को समापनसंगै रौतहटमा सडक सुरक्षा, ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा सहभागीहरूले सडक दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियमको पालना नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका थिए।