रौतहट, असार १० — रौतहटमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवले गत फागुन ३ गते आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बञ्चरो) प्रयोग गरी हत्या गरेका थिए। घटनापछि उनी फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त गौतम ले फरार अभियुक्तको खोजतलासका क्रममा प्राविधिक विश्लेषण तथा विभिन्न सूचनाका आधारमा विशेष निगरानी बढाइएको जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले महन्थ राय यादवलाई फतुवा विजयपुर नगरपालिका–८ विजयपुर क्षेत्रबाट पक्राउ गरेको हो।
“श्रीमतीको हत्या गरी फरार रहेका महन्थ राय यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,” प्रहरी नायव उपरीक्षक गौतमले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।