महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकामा ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेपछि नगरपालिकाका कर्मचारीले आन्दोलनको घोषणा गर्दै सम्पूर्ण सेवा बन्द गरेका छन् ।
नगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्रुतिअनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालयमा ड्युटीमा खटिएका नगर प्रहरीलाई कुनै पूर्वसूचना वा समन्वय बिना नेपाल प्रहरीको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको छ।
नगरपालिकाले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसबाट नगरपालिकामा कार्यरत कर्मचारी तथा नगर प्रहरीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको जनाएको छ।
नगरपालिकाद्वारा जारी विज्ञप्रुतिअनुसार नगरपालिकाको कार्यालयमा ड्युटीमा खटिएका आठ जना राष्ट्रसेवक नगर प्रहरीलाई बिना सूचना नेपाल प्रहरीको टोलीले कार्यालयमा प्रवेश गरी धरपकड शैलीमा नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा स्थानीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै पक्राउ परेका नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरिएको छ।
नगरपालिकाका कर्मचारीले आफ्ना सहकर्मीको पक्राउको विरोधमा पेनडाउन आन्दोलन सुरु गरेका छन्।उनीहरूले पक्राउ परेका नगर प्रहरीको अविलम्ब रिहाइ तथा कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा प्रवाह नगर्ने निर्णय गरेका छन्।
यस निर्णयसँगै गौशाला नगरपालिकाको केन्द्रीय कार्यालय, सबै वडा कार्यालय, नगरभित्रका स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक विद्यालयबाट प्रदान गरिने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
केही दिनअघि निगौल गाई गौशालाको जग्गामा नाला निर्माण गर्ने क्रममा उत्पन्न विवादका क्रममा नगरप्रहरीले निगौल गाई गौशालाका कार्यालय प्रमुख कुन्तीकुमारी पाण्डेमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोले जानकारी दिनुभयो ।