रौतहट, २० असार । खुला सीमा, तस्करी, लागूऔषध कारोबार तथा सार्वजनिक स्थानमा बढ्दो उच्छृङ्खल गतिविधिका कारण पटक–पटक सुरक्षा चुनौती खेप्दै आएको रौतहट सदरमुकाम गौरमा जिल्ला प्रहरीले पहिलोपटक ड्रोनमार्फत निगरानी सुरु गरेको छ । प्रहरीको यो कदमलाई जिल्लाको शान्ति–सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोगतर्फको नयाँ अभ्यासका रूपमा हेरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बुधबारदेखि मोबाइल गस्तीसँगै ड्रोन परिचालन गरी नगरका संवेदनशील क्षेत्रको आकाशबाट निगरानी थालेको हो । प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध सेवन तथा कारोबार, तस्करी, सार्वजनिक स्थानमा होहल्ला, तीव्र गतिमा मोटरसाइकल चलाउने तथा अन्य आपराधिक गतिविधि बढेको गुनासो आएपछि निगरानीलाई थप प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त गौतमले ड्रोनमार्फत जमिनबाट निगरानी गर्न कठिन हुने स्थान र शंकास्पद गतिविधिमाथि वास्तविक समयमै निगरानी राख्न सहज हुने बताएका छन । उनका अनुसार हाल गौरको महादेवपट्टी, झोलुङ्गे पुल क्षेत्रलगायत संवेदनशील स्थानमा एउटा ड्रोन परिचालन गरिएको छ ।
प्रहरीले आवश्यकता र स्रोत व्यवस्थापनअनुसार थप ड्रोन खरिद वा व्यवस्थापन गरी गौरबाहेक जिल्लाका अन्य संवेदनशील क्षेत्रमा समेत निगरानी विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
यो अभियान जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालको पहलमा सुरु भएको हो। उहाँका अनुसार परम्परागत गस्ती मात्र पर्याप्त नभएकाले प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। “नागरिकलाई सुरक्षित वातावरण दिन र अपराध हुनुअघि नै रोकथाम गर्ने रणनीतिअनुसार ड्रोन परिचालन गरिएको हो,“ उनले बताएका छन ।
रौतहट भारतसँग जोडिएको खुला सीमावर्ती जिल्ला भएकाले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध कारोबार तथा फरार व्यक्तिको आवतजावत प्रहरीका लागि चुनौती बन्दै आएको छ। यद्यपि हाल ड्रोन गौर बजार केन्द्रित रहेकाले यसको प्रभाव सीमावर्ती क्षेत्रमा कति पुग्छ भन्ने प्रश्न भने बाँकी छ ।
सुरक्षा विश्लेषकहरूका अनुसार ड्रोन निगरानीले प्रहरीको उपस्थिति बढेको सन्देश दिने, भीडभाड र संवेदनशील क्षेत्रको अनुगमन सहज बनाउने तथा घटनापछि प्रमाण सङ्कलनमा समेत सहयोग पुग्न सक्छ । तर पर्याप्त जनशक्ति, नियमित प्राविधिक सञ्चालन, स्पष्ट कार्यविधि र गोपनीयताको संरक्षण सुनिश्चित गर्न नसकिए यसको प्रभाव सीमित हुन सक्ने उनीहरूको भनाइ छ ।
प्रहरीले तीव्र गतिमा मोटरसाइकल चलाउने, सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गर्ने, लागूऔषध प्रयोग वा कारोबारमा संलग्न व्यक्ति तथा अन्य शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिने जनाएको छ ।
साथै नागरिकलाई कानुनको पालना गर्न, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेको छ ।
ड्रोन निगरानीबाट गौरको सुरक्षा व्यवस्थामा वास्तविक सुधार आउँछ कि आउँदैन भन्ने मूल्याङ्कन भने आगामी दिनमा अपराधको अवस्था, नियन्त्रणको प्रभावकारिता र नागरिकको अनुभूत सुरक्षाको आधारमा हुने देखिन्छ । अहिलेका लागि भने रौतहट प्रहरीले अपराध नियन्त्रणमा प्रविधिको प्रयोगतर्फ नयाँ अभ्यासको सुरुआत गरेको छ ।