सर्लाही, असार २० — काठमाडौँस्थित केन्द्रीय कारागार कार्यालयबाट फरार भएका डाँका चोरी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ। फरार भएको करिब १० महिनापछि उनलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन्। उनी डाँका चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार योन्जन २०८२ साल भदौ २४ गते काठमाडौँको जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयमा भएको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै फरार भएका थिए। उक्त दिन विभिन्न समूहको आन्दोलनका कारण कारागार क्षेत्रको सुरक्षा व्यवस्था प्रभावित बनेको बेला उनी कारागारबाट भाग्न सफल भएका थिए। त्यसयता उनी फरार सूचीमा रहेका थिए र प्रहरीले विभिन्न जिल्लामा उनको खोजी कार्यलाई निरन्तरता दिएको थियो।
विशेष सूचनाका आधारमा खटिएके प्रहरी टोलीले हरिवन नगरालिका क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनको पहिचान तथा मुद्दासम्बन्धी अभिलेख रुजु गरिसकेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीका अनुसार फरार कैदी तथा अदालतबाट सजाय तोकिएर पनि कानूनको पहुँचबाहिर रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाइएको छ। सोही अभियानअन्तर्गत रामलाल योन्जन पक्राउ परेका हुन्।
उनी फरार अवधिभर विभिन्न स्थानमा लुक्दै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। फरार रहँदा उनले अन्य कुनै आपराधिक गतिविधिमा संलग्नता जनाए वा नजनाएको विषयमा समेत अनुसन्धान भइरहेको छ।