सर्लाही, असार २१ गते ।
सर्लाहीको लालबन्दी बजारभित्रका सटर भाडा लगाउँदा विद्यालयलाई न्यून आम्दानी हुने गरेको तर भाडा लिने व्यक्तिले भने तेस्रो व्यक्तिलाई भाडा लगाएर राम्रो कमाइ गरिरहेको पाइएको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको बजारक्षेत्र जनज्योति माध्यमिक विद्यालयको स्वामित्वमा पर्छ । लालबन्दी नगरपालिका–९ मा रहेको विद्यालयले बजारका सटर मासिक पाँच सय रुपियाँदेखि तीन हजार रुपियाँसम्म भाडामा लगाएको छ ।
विद्यालयसँग सस्तोमा भाडा लिएर केही व्यक्तिले बजारका सटर अन्य व्यक्तिलाई दोब्बरभन्दा बढी मूल्य लिएर लामो समयदेखि भाडामा लगाउने गरेको पाइएको हो । बजारका अधिकांश सटर सातदेखि आठ हजार रुपियाँसम्ममा भाडा लगाइएको छ जबकि विद्यालयले अधिकतम मासिक तीन हजारभन्दा बढीमा सटर भाडा लगाएको छैन ।
विद्यालयको सम्पत्ति व्यक्तिले मनोमानी गर्न थालेको भन्दै पछिल्लो समय चौतर्फी आलोचना र विरोध सुरु भएको छ । भाडा लिएर व्यक्तिले विद्यालयलाई मासिक बुझाउनुपर्ने भाडा रकम धेरै बक्यौता भएपछि सटर भाडामा भइरहेको मनोमानी बाहिरिएको हो ।
सटर भाडा उठ्न छाडेपछि विद्यालयले नगरपालिका कार्यालय गुहारेको छ । विद्यालय र नगरपालिका कार्यालयले विद्यालयसँग आफूले भाडामा लिएको सटर अर्को व्यक्तिलाई भाडा लगाएर मनलाग्दी भाडा लिने र विद्यालयलाई पैसा नबुझाउने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएपछि अहिले भने बक्यौता रहेका भाडा उठ्न थालेको छ । जनज्योति माविका प्रधानाध्याक विष्णु पोखरेलले निरन्तर ताकिता गरेपछि असार महिनाभरमा एक करोड ३९ लाख रुपियाँ सटर भाडा उठेको जानकारी दिनुभयो । उहाँका अनुसार अझै ६० लाख रुपियाँको हाराहारीमा सटर भाडा उठ्न बाँकी छ ।
पुरानो भाडा तिर्न बाँकी रहेका व्यवसायीलाई असार महिनाभित्र सम्पूर्ण भाडा रकम चुक्ता गर्न समय दिइएको छ । लालबन्दी बजारभित्र जनज्योति माविले करिब छ सय सटर भाडामा लगाएको छ भने केही सटर भाडामा लाग्न सकेको छैन ।
आगामी साउनदेखि जो व्यापारीले विद्यालयसँग सटर भाडामा लिएको हो, उसैले व्यापार, व्यवसाय गर्नुपर्ने र व्यापार नगर्ने भए विद्यालयलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान बनाउन लागिएको विद्यालयले जनाएको छ । विद्यालयसँग भाडामा लिएर अरूलाई भाडामा लगाउने व्यक्तिको अहिले लगत सङ्कलन भइरहेको विद्यालयले जनाएको छ ।
उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष महेश महतोले बजारको सटर भाडा उठ्न बाँकी रहेको विषयमा विद्यालय र व्यवसायीबिच सङ्घले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । व्यवसायीले पनि एकै पटक सम्पूर्ण रकम तिर्न नसक्ने अवस्था रहेकाले केही समय मौका दिन विद्यालय र नगरपालिकासँग आग्रह गरिएको महतोले बताउनुभयो ।
बजारका सटरको भाडा लगाउने र उठाउने विषयमा पछिल्लो समय लालबन्दी नगरपालिका कार्यालयले पनि चासो व्यक्त गरेको छ । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले एउटा व्यक्तिले सटर भाडामा लिने र महँगोमा अर्को व्यक्तिलाई बिक्री गर्ने परिपाटी अब रोकिने दाबी गर्नुभयो ।
लालबन्दी र नवलपुर दुवै बजारमा यस्तो समस्या रहेकाले साउन १ गतेदेखि जसले सटर भाडामा लिएको हो । उसैले मात्र व्यापार गर्न पाउने नियम कडाइका साथ लागु गर्न सम्बन्धित र बजार समितिसँग समन्वय भइरहेको नगरप्रमुख अधिकारीले बताउनुभएको छ । नगरप्रमुख अधिकारीले भन्नुभयो, “अहिलेसम्म व्यावहारिक पक्ष हेरेर जे जे भयो भयो तर अब साउनदेखि कडाइका साथ उत्रन्छौँ ।”
लालबन्दी नगरपालिका–१, नवलपुर बजारकी व्यवसायी सावित्रीदेवी दासले बजारको सटर भाडा मासिक तीन हजार रुपियाँ तिर्दै आइरहेको बताउनुभयो । नवलपुर बजारको स्वामित्व रहेको जनजीवन विद्याश्रम माविले भने उक्त भाडाबाट आधा रकम पनि पाउँदैन । लालबन्दीमा जस्तै नवलपुरमा पनि विद्यालयसँग एउटा व्यक्तिले सटर भाडामा लिने र दोब्बर बढी मूल्यमा अर्को व्यक्तिलाई भाडामा लगाउने परिपाटी रहेको पाइएको छ । विद्यालयको नाममा रहेको जग्गामा व्यक्तिले आफू अनुकूलका संरचना निर्माण गरिरहेको भन्दै चर्को विरोध हुन थालेको छ ।