रौतहट ,२१ असार । रौतहट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको विभिन्न उपभोग्य सामग्री तथा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २० गते बिहान करिब ९ः४५ बजे जिल्लास्थित बोर्डर एक्सन टिम (बैट) र प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ईशनाथ नगरपालिका–४, सानो लतमरी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको करिब ३५ हजार ८ सय रुपैयाँ बराबरका माउन्टेन ड्यु, स्प्राइट, सर्गम सुपारी लगायतका सामग्री नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी आवश्यक कागजात नभएका भारतीय नम्बर प्लेट बिआर ३० डी ८९३५ र बिआर ०६सि ए ७११६ सहितका दुई मोटरसाइकल तथा नम्बर नखुलेको एक ग्ल्यामर मोटरसाइकल गरी तीनवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। मोटरसाइकलहरूको अनुमानित मूल्य करिब १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान र मोटरसाइकलको स्रोत तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको रौतहट प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।