रौतहट २१ असार
रौतहटमा लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा प्रहरीले सर्लाहीमा रहेको एक हेल्थकेयरमा छापा मारेर नेपालमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा हेल्थकेयर सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही पठाइएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार गत जेठ ३१ गते साँझ करिब ७ः४० बजे चन्द्रपुर नगरपालिका–१ मंगलपुर क्षेत्रमा इलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोली नियमित गस्तीमा थियो। सोही क्रममा शंकास्पद रूपमा बसेका स्थानीय २१ वर्षीय श्याम किशोर सहनी र गैरीगाउँ निवासी ४२ वर्षीय शंकर बहादुर पुलामीलाई प्रहरीले निगरानीमा लिएको थियो।
प्रहरी टोलीलाई देख्नासाथ दुवैले साथमा रहेको सेतो तथा पहेंलो रंगका लागुऔषधजस्ता देखिने ४३ वटा ट्याब्लेट फालेर भाग्ने प्रयास गरेका थिए। प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिई ट्याब्लेटसमेत बरामद गरेको थियो। त्यसपछि दुवैमाथि लागुऔषध कारोबारको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा असार २० गते पक्राउ परेका श्याम किशोर सहनीले आफूले उक्त लागुऔषध सर्लाहीको बागमती नगरपालिका–११ पुतलीचोकस्थित सभ्यता हेल्थकेयर हस्पिटल प्रालिबाट खरिद गरेको बयान दिएका थिए। उनको बयानलाई आधार मानेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीसँग समन्वय गरी उक्त हेल्थकेयरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा नेपालमा प्रतिबन्धित लागुऔषध त्चबmबमय िका ५४ वटा ट्याब्लेट, ट्रामाडोल, का ३ वटा ट्याब्लेट, टेन्टाटोल का ३० वटा ट्याब्लेट तथा ट्रामाडोल, र टेन्टाटोलका निकालिएका खाली स्ट्रिपहरू बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएका औषधि बिक्री तथा कारोबारका लागि राखिएको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा हेल्थकेयर सञ्चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ निवासी ३० वर्षीय प्रज्वल आलेलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही पठाइएको प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार रौतहटमा पक्राउ परेका व्यक्तिको बयानका आधारमा गरिएको अनुसन्धानबाट सर्लाहीसम्म पुगेर प्रतिबन्धित लागुऔषध बरामद गर्न सफलता मिलेको हो। उनका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान जारी छ।