रौतहट, साउन १३ — प्रतिनिधिसभा सदस्य तथा रौतहट निर्वाचन क्षेत्र नं. ४ का सांसद गणेश पौडेलमाथि भएको अपमानजनक तथा अमानवीय व्यवहारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ७ गते राति करिब ९ बजे गढीमाई नगरपालिका–७ पर्सास्थित मठ मन्दिर नजिक सांसद पौडेलले स्थानीय नागरिकसँग गुनासो सुनुवाइ गरिरहेका बेला केही व्यक्तिहरूले कार्यक्रमस्थलमा पुगेर ‘मधेस मुक्ति अभियान जिन्दाबाद’, ‘फिर्डी नेपाली माननीय मुर्दाबाद’, ‘नेपाली उपनिवेश अन्त हो’ लगायतका नारा लेखिएका पर्चा छरेका थिए। साथै उनीहरूले सांसद पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोप छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिका–३ का २० वर्षीय शेख इवरान र सोही नगरपालिका–३ गम्हरियाका १९ वर्षीय इरफान अन्सारीलाई साउन १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेकाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजतलास तथा पहिचानको काम समेत जारी रहेको उनले बताए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्द्रपुर नगर अध्यक्ष अरुण लामाले घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेकोमा प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन्। उनले सत्यतथ्यका आधारमा अनुसन्धान गरी वास्तविक दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएकोमा प्रहरीको प्रयास सकारात्मक रहेको बताए।
लामाले घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिहरूलाई समेत यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। “ढिलो भए पनि सत्यतथ्य बुझेर वास्तविक दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ, अब बाँकी संलग्न व्यक्तिहरूलाई पनि छिटोभन्दा छिटो पक्राउ गरी कानुनबमोजिम कारबाही गरिनुपर्छ,” उनले भने।
सांसद पौडेलमाथि भएको उक्त घटनाले राष्ट्रिय राजनीतिक वृत्तमा समेत चर्चा पाएको थियो। घटनालगत्तै रास्वपाले यसलाई लोकतान्त्रिक अभ्यास र जनप्रतिनिधिमाथिको असहिष्णु व्यवहारको उदाहरण भन्दै दोषीमाथि कारबाहीको माग गरेको थियो। प्रहरीले भने घटनाको अनुसन्धान अझै जारी रहेको र थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने जनाएको छ।