रौतहट। प्रतिनिधिसभा सदस्य तथा रौतहट निर्वाचन क्षेत्र नं. ४ का सांसद गणेश पौडेलमाथि गढीमाई नगरपालिका–७ पर्सामा भएको दुर्व्यवहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गढीमाई नगरपालिका–३ का २० वर्षीय शेख इवरान र सोही नगरपालिका–३ गम्हरियाका १९ वर्षीय इरफान अन्सारीलाई साउन १३ गते पक्राउ गरेको जनाएको छ।
दुई दिनअघि मात्रै यस घटनाका दोषीमाथि कारबाहीको माग गर्दै सांसद गणेश पौडेल स्वयं इलाका प्रहरी कार्यालय गरुडामा पुगेर लिखित जाहेरी दर्ता गराएका थिए। त्यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटले घटनामा संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा ल्याउन रौतहट प्रहरीलाई अल्टिमेटम दिएको थियो।
त्यसपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै घटनामा संलग्न रहेको आरोपमा शेख इवरान र इरफान अन्सारीलाई पक्राउ गरेको हो। पक्राउपछि रास्वपा चन्द्रपुर नगर अध्यक्ष अरुण लामाले प्रहरी प्रशासनलाई धन्यवाद दिँदै अनुसन्धानलाई सही दिशामा अघि बढाएको बताएका छन्।
लामाले ढिलो भए पनि घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रयास सुरु भएको भन्दै अनुसन्धानमा खटिएका सुरक्षाकर्मीहरूको प्रशंसा गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमाथि योजनाबद्ध रूपमा गरिने अपमानजनक तथा अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।
“कानुनको नजरमा सबै बराबर छन्। जसले गल्ती गरेको छ, उसले सजाय पाउनुपर्छ। यस्ता गतिविधिले समाजमा गलत सन्देश दिन्छन्, त्यसैले दोषीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ,” लामाले बताएका छन्।
उनले पक्राउ परेकाहरूविरुद्ध कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। साथै फरार रहेका व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।
लामाले प्रहरीलाई स्वच्छ, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गर्न आग्रह गर्दै कुनै पनि निर्दोष व्यक्ति अनुसन्धानको नाममा फस्न नहुने स्पष्ट पारे। “हाम्रो माग स्पष्ट छ— वास्तविक दोषी उम्किनु हुँदैन र निर्दोष फस्नु पनि हुँदैन। प्रहरीले तथ्य, प्रमाण र कानुनका आधारमा अनुसन्धान गरी वास्तविक दोषीलाई कारबाही गरोस्,” उनले भने।
उनका अनुसार जनप्रतिनिधिमाथि भएको यस्तो दुर्व्यवहार केवल एक व्यक्तिमाथिको आक्रमण मात्र नभई लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक मर्यादामाथिको चुनौती पनि हो। यस्ता घटनामा राज्यका निकायले निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दा नागरिकमा कानुनप्रतिको विश्वास अझ बलियो बन्ने उनले बताए।
“हामी प्रतिशोध होइन, न्याय खोजिरहेका छौं। दोषीलाई कानुनबमोजिम सजाय होस्, तर निर्दोषमाथि अन्याय नहोस्। यही नै हाम्रो अडान हो,” लामाले भने।
दुई जनाको पक्राउसँगै घटनाको अनुसन्धानले नयाँ मोड लिएको छ। रास्वपा चन्द्रपुर नगर समितिले यसलाई सत्यतथ्य स्थापित गर्ने प्रारम्भिक सफलता मानेको छ भने नगर अध्यक्ष अरुण लामाले निष्पक्ष अनुसन्धानमार्फत सम्पूर्ण दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग पुनः आग्रह गरेका छन् ।