रौतहट — मौलापुर नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्न थालेको छ। निर्वाचनको औपचारिक मिति र उम्मेदवारी प्रक्रिया सुरु हुनुअगावै सम्भावित उम्मेदवारहरूको सक्रियता र दलगत समीकरणले नगरपालिकाको राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। विशेषगरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट रामप्रवेश यादव र नेकपा एकीकृत समाजवादीबाट रामकल्याण यादवबीच भएको अघिल्लो निर्वाचनको प्रतिस्पर्धा यसपटक नयाँ राजनीतिक समीकरणका कारण फरक मोडमा पुग्ने संकेत देखिएको छ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित विभिन्न वामपन्थी घटकबीच एकता भएपछि बनेको नेकपाभित्र मौलापुरको उम्मेदवारी समीकरण पनि पेचिलो बन्ने देखिएको छ। एउटै राजनीतिक छातामुनि आइपुगेका रामप्रवेश र रामकल्याणमध्ये कसले टिकट पाउने भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ।
पार्टी एकतापछि नेकपाबाट टिकट पाउने सम्भावना कमजोर हुन सक्ने आकलनका बीच रामप्रवेश यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ नजिकिएको चर्चा सुरु भएको छ। रास्वपाबाट टिकटको आश्वासन पाएपछि उनी उक्त पार्टीमा आबद्ध हुने सम्भावनाबारे छलफलमा रहेको स्रोतको दाबी छ। यद्यपि, उनको पार्टी प्रवेश वा उम्मेदवारीबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन।
हालै प्रतिनिधिसभा सदस्य रविन्द्र पटेल (धिरज) लाई रामप्रवेश यादवले आफ्नै निवासमा स्वागत गरेपछि यो चर्चाले थप बल पाएको हो। उक्त भेटलाई सामान्य आतिथ्यताका रूपमा मात्र नभई आगामी निर्वाचनसँग जोडेर पनि राजनीतिक वृत्तमा विश्लेषण गर्न थालिएको छ। रामप्रवेशले भने सांसद पटेललाई स्वागत गरेको विषयलाई पार्टी प्रवेशका रूपमा बुझ्न नमिल्ने स्पष्ट पारेका छन्।
रास्वपाभित्र पनि मौलापुर नगरपालिकाको सम्भावित उम्मेदवारीलाई लिएर एकभन्दा बढी आकांक्षी देखिएका छन्। वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रशेखर साह र प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र पटेललाई सहयोग गरेका रुपलाल साह पनि रास्वपाबाट नगरप्रमुखको आकांक्षीका रूपमा चर्चामा छन्। यस्तो अवस्थामा रामप्रवेश यादवको सम्भावित प्रवेशले रास्वपाभित्रको उम्मेदवारी बहसलाई थप जटिल बनाएको छ। तर पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।
एकातिर पार्टीको टिकट कसले पाउने भन्ने राजनीतिक रस्साकस्सी चलिरहेका बेला अर्कोतिर नेकपाका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका रामकल्याण यादवले भने चुनावी एजेन्डा सार्वजनिक गर्न थालेका छन्। तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानका क्रममा उनले नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सुशासनलाई समेटेर विभिन्न प्रतिबद्धता अघि सारेका छन्।
उनले नगरभित्रका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने, प्रत्येक विद्यालयमा पुस्तकालय, डिजिटल बोर्ड, सेनिटरी प्याड तथा खेलकुद सामग्री उपलब्ध गराउने र माध्यमिक तथा उच्च माध्यमिक तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्ने एजेन्डा अघि सारेका छन्। त्यस्तै नगरपालिकाभित्रै स्नातक तहसम्मको अध्ययनको व्यवस्था मिलाउने, प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा तथा छात्रवृत्तिका लागि आर्थिक सहयोगको व्यवस्था गर्न पहल गर्ने उनको प्रतिबद्धता छ। एसईई, कक्षा ११ र १२ तथा लोकसेवा तयारीका लागि आवश्यक कक्षा सञ्चालन गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
स्वास्थ्य क्षेत्रतर्फ सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने, नगरवासीको स्वास्थ्य बिमा निःशुल्क बनाउँदै प्रभावकारी रूपमा सञ्चालन गर्ने र सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिलाई सम्बन्धित वडाबाटै वितरण गर्ने व्यवस्था मिलाउने उनको एजेन्डा छ।
कृषि क्षेत्रलाई नगरको आर्थिक विकाससँग जोड्दै उनले खेतीयोग्य जमिनको माटो परीक्षण गरी सोहीअनुसारको बीउबिजन र मलखाद उपलब्ध गराउने, सिँचाइका लागि विद्युत् पोल, तार, डिप बोरिङ तथा मोटर जडान गर्ने र कृषि मिटर निःशुल्क गराउने प्रतिबद्धता जनाएका छन्। किसानलाई आधुनिक कृषि तालिम, उत्पादनको उचित मूल्य निर्धारण, कृषि उपज भण्डारण तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने विषय पनि उनका एजेन्डामा समेटिएका छन्।
पूर्वाधार विकासअन्तर्गत नगरका मुख्य सडक चौडा बनाउने, डिभाइडर र सडकबत्ती जडान गर्ने तथा सडकका दुवैतर्फ वृक्षरोपण गर्ने योजना अघि सारिएको छ। प्रत्येक वडामा नाला निर्माण गरी पानी निकासको व्यवस्था मिलाउने, नगरपालिकाको कार्यालय आफ्नै जग्गामा निर्माण गर्ने र नगर अस्पतालसमेत आफ्नै जग्गामा स्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
त्यसैगरी प्रत्येक वडामा निःशुल्क खानेपानीको व्यवस्था, दलित तथा विपन्न परिवारका लागि आवास, स्थानीय लगानी र सहुलियतपूर्ण कर्जाको व्यवस्था, सबै परिवारलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण तथा विद्युत् महसुल निःशुल्क गर्ने प्रस्ताव पनि अघि सारिएको छ। युवालाई योग्यताअनुसार सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्ने तथा खेलकुदमा प्रोत्साहन गर्ने विषयसमेत उनको चुनावी एजेन्डामा छन्। नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावमार्फत उनले स्थानीय सरकारको कामकारबाहीलाई पारदर्शी बनाउने विषयलाई पनि समेटेका छन्।
रामकल्याणका यी प्रतिबद्धताले मौलापुरको आगामी निर्वाचनमा विकास र सेवा प्रवाहका मुद्दालाई बहसमा ल्याउने प्रयास गरेको देखिन्छ। तर सार्वजनिक गरिएका यी एजेन्डा कार्यान्वयनका लागि आवश्यक बजेट, स्रोत व्यवस्थापन, समयसीमा र प्राथमिकताबारे भने विस्तृत खाका सार्वजनिक हुन बाँकी छ।
मौलापुरको राजनीतिक परिदृश्यमा अहिले एउटा रोचक विरोधाभास देखिएको छ। एउटै पार्टीमा समेटिएका पूर्वप्रतिस्पर्धीबीच टिकटको सम्भावित प्रतिस्पर्धा छ भने अर्को पार्टीमा प्रवेशको चर्चा र उम्मेदवारीका आकांक्षीहरूको संख्या थपिँदै छ। एकातिर राजनीतिक समीकरण मिलाउने प्रयास भइरहेको छ भने अर्कोतिर विकासका योजनाको सूची सार्वजनिक गरेर मतदातामाझ पुग्ने तयारी देखिन्छ।
तर मतदाताका लागि प्रश्न केवल कसले कुन पार्टीको टिकट पाउँछ भन्ने मात्र होइन। विगतमा सार्वजनिक गरिएका प्रतिबद्धताको अवस्था के छ र अब प्रस्तुत गरिएका नयाँ योजनाहरू कसरी कार्यान्वयन हुन्छन् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ। विद्यालयमा डिजिटल बोर्डदेखि नगर अस्पतालसम्म, निःशुल्क खानेपानीदेखि विद्युत् महसुल निःशुल्क गर्नेसम्मका प्रतिबद्धता सुन्दा आकर्षक देखिए पनि तिनको आर्थिक आधार र कार्यान्वयनको स्पष्ट योजना सार्वजनिक नभएसम्म ती चुनावी घोषणाकै सीमामा रहने जोखिम छ।
मौलापुरमा अहिले टिकटको अंकगणित सुरु भएको छ। तर अन्ततः नगरवासीले राजनीतिक दलको एकता, उम्मेदवारको समीकरण र चुनावी घोषणाभन्दा आफ्नो जीवनमा देखिने परिवर्तनको हिसाब खोज्नेछन्।