गरुडा । रौतहटको गरुडा नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नयाँ पुस्ताको नेतृत्वबारे बहस सुरु हुन थालेको छ। Gen-Z अभियन्ता तथा अधिवक्ता युवराज मुखियाको नाम मेयर पदको सम्भावित आकांक्षीसँग जोडिएपछि स्थानीयस्तरमा उनको दाबेदारीबारे चर्चा बढ्न थालेको हो।
युवा सहभागिता, कानुनी चेतना, सुशासन र राजनीतिक रूपान्तरणका विषयमा सक्रिय रहँदै आएका मुखियालाई स्थानीय युवाको एउटा तप्काले सम्भावित नेतृत्वका रूपमा हेर्न थालेको छ। उनको सम्भावित दाबेदारीसँगै गरुडामा पुरानो राजनीतिक कार्यशैली र नयाँ पुस्ताको नेतृत्वबीच तुलना हुन थालेको छ।
गरुडा नगरपालिका वडा नं. ५ शिवनगरका एक स्थानीयले विगतको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अब नगरपालिकालाई सक्षम र जनताको सुखदुःख बुझ्ने युवा नेतृत्व आवश्यक रहेको बताए। उनका अनुसार विगतमा नेतृत्वमा पुगेकाहरूले शिक्षा, स्वास्थ्य तथा व्यापारिक क्षेत्रका समस्या समाधानमा अपेक्षित चासो र साथ दिन नसकेको गुनासो स्थानीयमा छ।
‘नेतृत्वमा पुगेपछि जनताको समस्या बुझ्नुपर्छ। शिक्षा, स्वास्थ्यदेखि व्यापार व्यवसायमा आइपर्ने सुखदुःखमा समेत साथ नदिने नेतृत्वबाट विकासको अपेक्षा गर्न सकिँदैन,’ उनले भने, ‘अब गरुडालाई काम गर्न सक्ने, जनताको कुरा सुन्ने र जिम्मेवारी पूरा गर्ने सक्षम युवा नेतृत्व चाहिएको छ।’
व्यापारिक केन्द्रका रूपमा परिचित गरुडामा स्थानीय व्यवसायीका समस्या, बजार व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ। नगरको आर्थिक गतिविधिलाई थप व्यवस्थित र गतिशील बनाउन दूरदृष्टि भएको नेतृत्व आवश्यक रहेको उनीहरूको अपेक्षा छ।
यही परिवेशमा अधिवक्ता मुखियाको सम्भावित दाबेदारीलाई केही स्थानीयले नयाँ विकल्पका रूपमा हेरेका छन्। कानुनी क्षेत्रको अनुभव, युवा पुस्तासँगको सम्बन्ध र सुशासनसम्बन्धी मुद्दामा उनको सक्रियताले स्थानीय राजनीतिक बहसमा नयाँ विषय थपेको छ।
यद्यपि, मुखियाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन्। आगामी दिनमा उनले आफ्नो राजनीतिक दृष्टिकोण, नगर विकासको योजना र चुनावी तयारी कसरी अघि बढाउँछन् भन्ने विषयले उनको सम्भावित राजनीतिक यात्रालाई थप स्पष्ट पार्नेछ।