रौतहट । आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगरपालिकाको मेयर, उपमेयर र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष बन्नका लागि आकाङ्क्षा राखेर क्यान्डीडेट क्लबमा नाम दर्ता गराउने क्रम जारी छ ।
रास्वपाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न चाहनेहरूका लागि भदौ १ गतेबाट क्यान्डिडेट क्लबमा नाम दर्ता हुन आव्हान गरेको थियो । यस्तै नगरपालिकाको मेयर उपमेयर हुन चाहनेहरुका लागि असोज २९ गतेबाट क्यान्डिडेट क्लबमा दर्ता हुन आव्हान गरेको थियो ।
उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूकालागि लक्षित गरेर क्यान्डिडेट क्लबमा दर्ता हुन आव्हान गरेसँगै कोशीमा रहेका पालिकाहरूको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार हुने चाहाना राख्दै अहिले सम्म ५१६ जनाले नाम दर्ता गराएका छन् । जसमा कोशी प्रदेशमा मेयर, अध्यक्ष पदको लागि रास्वपाका तर्फबाट उम्मेदवार बन्न चाहनेको सङ्ख्या ३९१ जना रहेको छ ।
यस्तै उपप्रमुख, उपाध्यक्ष पदको आकाङ्क्षीको सङ्ख्या १२५ जना रहेको छ । नेपाल प्रेसलाई प्राप्त भएको कागजात अनुसार प्रमुख र उप प्रमुखको उम्मेदवार बन्न चाहने सबै भन्दा बढी मोरङमा रहेका छन् ।
मोरङमा दुवै पदका लागि गरेर १४३ जनाले नाम टिपाएका छन् । यस्तै झापामा ११३, सुनसरीमा ९७, उदयपुरमा ४७, ओखलढुङ्गामा ४४ जनाले प्रमुख र उप प्रमुख पदका लागि उम्मेदवार बन्न इच्छा व्यक्त गर्दै नाम टिपाएका छन् ।
यसैगरी सङ्खुवासभामा १७ जना, तेह्रथुममा १४, सोलुखुम्बुमा १० जनाले रास्वपाको तर्फबाट पालिकाको प्रमुख र उप प्रमुख पदको उम्मेदवारी बन्ने चाहाना राखेका छन् । यसैगरी भोजपुरमा ९, इलाममा ६, ताप्लेजुङमा ६, धनकुटामा ५, पाँचथरमा ४, खोटाङमा २ जनाले मात्रै प्रमुख र उप प्रमुख पदमा उम्मेदवार बन्ने चाहाना राखेका छन् ।
४३ पालिकामा प्रमुखका लागि शून्य निवेदन
कोशी प्रदेशमा १३७ वटा पालिका रहेका छन् । ती मध्ये तराईका जिल्लामा रहेका गाउँपालिका र नगरपालिकामा प्रमुख र उप प्रमुख बन्नका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता गराउनेको सङ्ख्या अत्यधिक रहेको छ । पहाडी जिल्लाका पालिकाहरूमा भने उम्मेदवारको चाप कम रहेको देखिन्छ ।
रास्वपा क्यान्डिडेट क्लबको तथ्याङ्क अनुसार हालसम्म कोशी प्रदेशका ४३ वटा पालिकामा प्रमुख (मेयर, अध्यक्ष) पदका लागि १ जनाको पनि उम्मेदवारी दर्ता भएको छैन । ती सबै पहाडी जिल्लाका पालिकाहरु रहेका छन् ।
खोटाङको बराह पोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकामा अध्यक्षका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता भएको छैन ।
यस्तै इलामको देउमाई नगरपालिका, माई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिकामा पनि प्रमुख पदका लागि अहिले सम्म आकांक्षी देखिएका छैनन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिका, छथर जोरपाटी गाउँपालिका, खाल्सा छिन्ताङ सहिद भूमि गाउँपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिका पनि प्रमुख पदका लागि नाम दर्ता भएको छैन ।
यसैगरी पाँचथरको फालेलुङ गाउँपालिका, हिलीहाङ गाउँपालिका, कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका फिदिम नगरपालिकाको प्रमुख पदका लागि अहिले सम्म कसैले पनि इच्छा जाहेर गरेका छैनन् ।
यस्तै सङ्खुवासभाको चिचिला गाउँपालिका, धर्मदेवी नगरपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका, सिलिचोङ गाउँपालिकामा पनि अध्यक्षका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता भएको छैन ।
यस्तै भोजपुरको आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका रामप्रसाद राई गाउँपालिका, साल्पासिलिछो गाउँपालिका ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिकामा पनि प्रमुख पदमा कसैले पनि क्यान्डिडेट क्लबमा नाम लेखाएका छैनन् ।
यस्तै सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका, महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पनि प्रमुख पदका लागि नाम दर्ता नभएको भेटिएको छ ।
झापा मोरङ सुनसरीमा आकांक्षीको लर्को
झापा मोरङ सुनसरीका गाउँपालिका र नगरपालिकामा अध्यक्ष र मेयर हुन चाहनेहरुको सङ्ख्या अहिले सम्म २५१ जना पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार ती जिल्लाका पालिकाहरूमा उपप्रमुख तथा उपाध्यक्ष पदका लागि ९७ जना ले उम्मेदवारी दिने इच्छा व्यक्त गर्दै नामावली दर्ता गराएका छन् । यो सूचीमा विराटनगर महानगर, इटहरी र धरान उप महानगरको सूची पनि उपलब्ध गराएको छैन ।
झापामा रहेका १५ वटा पालिकामा रास्वपाका तर्फबाट मेयर र अध्यक्षको उम्मेदवार हुन ८० जनाले आकांक्षा राखेका छन् । यस्तै उप मेयर र उपाध्यक्ष हुनका लागि ३३ जनाले इच्छा जाहेर गर्दै क्यान्डिडेट क्लबमा निवेदन दिएका छन् ।
नेपाल प्रेसलाई प्राप्त कागजात अनुसार झापाको शिवसताक्षी नगरपालिकाको मेयर हुन सबै भन्दा बढी १० जनाले इच्छा व्यक्त गरेका छन् । यस्तै बिर्तामोडको मेयर बन्नका लागि ९ जनाले इच्छा जाहेर गरेका छन् ।
मोरङका १७ वटा पालिका मध्ये मेयर र अध्यक्ष बन्ने आकांक्षा सहित १०१ जनाले निवेदन दिएका छन् । रास्वपाका अनुसार मोरङमा रास्वपाको तर्फबाट उपप्रमुख , उपाध्यक्षको उम्मेदवार हुन ३९ जनाले दाबी गरेका छन् । मोरङका पालिका मध्ये धनपालथान गाउँपालिकामा अध्यक्ष पदका लागि सबैभन्दा बढी १५ जना ले उम्मेदवारीको इच्छा देखाएका छन् ।
यस्तै कटहरी गाउँपालिकामा ११ जना र ग्रामथान गाउँपालिकामा ९ जना ले अध्यक्ष पदका लागि नाम दर्ता गराएका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिका विराटनगर महानगरको मेयर र उप मेयर बन्न चाहनेको सङ्ख्या भने सार्वजनिक भएको छैन ।
सुनसरीमा भने १२ वटा पालिकाहरू रहेका छन् । १२ वटा पालिका माध्ये इटहरी र धरान उप महानगरपालिकामा मेयर र उप मेयर बन्न चाहनेहरुको सङ्ख्या सार्वजनिक भएको छैन । ती बाहेक १० वटा पालिकाको प्रमुख र उप प्रमुखको उम्मेदवार बन्न इच्छा राख्दै ७० जनाले क्यान्डिडेट क्लबमा निवेदन दिएका छन् ।
यस्तै उपप्रमुखको उम्मेदवार बन्न २५ जनाले निवेदन दिएको नेपाल प्रेसलाई उपलब्ध काजगतमा उल्लेख छ । सुनसरीको इनरुवा नगरपालिकामा प्रमुख पदका लागि सबैभन्दा बढी १३ जना ले आवेदन दिएका छन् ।
त्यसैगरी कोशी गाउँपालिकामा १२ जना देवान्गञ्ज गाउँपालिकामा ११ जनाले रास्वपाका तर्फबाट अध्यक्षको उम्मेदवार बन्ने रहर देखाउँदै क्यान्डिडेट क्लबमा दर्ता भएका छन्