रौतहट, १८ कात्तिक। रौतहटमा प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइएको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
जिल्लाको ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले पहिलोपटक उक्त रकम बरामद गरेको हो।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी सहायक निरीक्षक (प्रसनि) बिन्दा महतोको नेतृत्वमा रहेको टोलीले बुधबार दिउँसो करिब साढे ३ बजे प्रदेश ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया–१३ निवासी ३० वर्षीय सनि कुमार जैसवालले झोला र मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर लुकाएको अवस्थामा ३० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
नगद र एक थान स्मार्ट मोबाइलसहित नियन्त्रणमा लिइएका जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याएर सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा खानतलासी गरेको थियो। खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
थप रकमसहित पसल सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। बरामद भएको कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँको स्रोत तथा कारोबारको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।