रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले कर प्रशासन र व्यवसायीबीचको सम्बन्ध मित्रवत्, सहज र व्यावहारिक हुनुपर्ने बताएका छन्। करसम्बन्धी जानकारीको अभावमा व्यवसायीले अनावश्यक अन्योल र समस्या भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको समन्वय तथा सहजीकरण र आन्तरिक राजस्व कार्यालय सिमरा, बाराको आयोजनामा बुधबार चन्द्रपुरमा आयोजित कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सापकोटाले यस्तो बताएका हुन्।
आर्थिक ऐन २०८३ ले प्रदान गरेका कर छुटसम्बन्धी व्यवस्था तथा कर प्रशासनका प्रक्रियाबारे स्थानीय उद्योगी–व्यापारीलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा सापकोटाले व्यवसायी र कर प्रशासनबीच नियमित संवाद आवश्यक रहेको बताए।
'व्यापारी र कर अधिकृतबीच मित्रवत् र व्यावहारिक सम्बन्ध हुनुपर्छ,' उनले भने, 'समयसमयमा कर शिक्षा, तालिम र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएकाले संघले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।'
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमरा, बाराका प्रमुख विकास रजकले कर प्रशासन व्यवसायीलाई अप्ठ्यारोमा पार्ने निकाय नभई सहजीकरण गर्ने निकाय भएको बताए। कर अधिकृतहरू व्यवसायीका सहजकर्ता भएकाले करसम्बन्धी कुनै समस्या वा अन्योल भए निर्धक्क रूपमा सम्पर्क गर्न उनले आग्रह गरे।
रजकले आर्थिक ऐन २०८३ मा समेटिएका कर छुटका व्यवस्था, करदाताका दायित्व तथा कर प्रशासनसँग सम्बन्धित विषयमा व्यवसायीलाई जानकारी गराएका थिए।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रजक प्रमुख अतिथि थिए। संघका पदाधिकारी, वस्तुगत संघका प्रतिनिधि तथा स्थानीय उद्योगी–व्यापारीको सहभागिता रहेको कार्यक्रममा व्यवसायीले आफूहरूले व्यवसाय सञ्चालनका क्रममा भोगेका करसम्बन्धी समस्या र जिज्ञासा खुलेर राखेका थिए।
अन्तरक्रियाका क्रममा व्यवसायीले करका प्रावधान, छुट सुविधा तथा प्रशासनिक प्रक्रियाबारे सम्बन्धित अधिकारीसँग प्रत्यक्ष जानकारी लिएका थिए। कर प्रशासनका अधिकारीसँग प्रत्यक्ष संवाद गर्न पाउँदा करसम्बन्धी अन्योल हटाउन र आफ्ना समस्या राख्न सहज भएको सहभागीहरूले बताए।
व्यवसायीलाई करसम्बन्धी नीतिगत व्यवस्था र व्यावहारिक प्रक्रियाबारे सुसूचित गराउनुका साथै कर प्रशासन र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्न कार्यक्रम उपयोगी हुने आयोजकको अपेक्षा छ।
संघका सचिवले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी महासचिव दिवाकर सापकोटाले सम्हालेका थिए।