रौतह,१५ कात्तिक
क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण राहुल यादवको चर्चा चुलिँदै गर्दा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसको सह–महामन्त्री फिरदोस आलम र राजपुर नगरपालिकाका प्रमुख राजिक आलमले कीर्तिपुरस्थित क्रिकेट मैदानमै पुगेर उनलाई बधाई तथा शुभकामना दिएका छन्।
रौतहटको क्षेत्र नम्बर २ बौधिमाई नगरपालिका वडा नं १ मा घर भएका राहुलले आफ्नो खेल प्रदर्शनमार्फत चर्चा बटुलिरहेका बेला जनप्रतिनिधिले मैदानमै पुगेर गरेको भेटलाई उनको खेलजीवनमा हौसला थप्ने कदमका रूपमा हेरिएको छ। सांसद फिरदोस र नगरप्रमुख राजिकले राहुललाई भेटेर बधाई दिँदै आगामी खेलमा अझ राम्रो प्रदर्शनका लागि शुभकामना दिएका हुन्।
सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका राहुलले सीमित स्रोतसाधनका बीच क्रिकेटमा गरेको मेहनत र प्रदर्शनले अहिले धेरैको ध्यान खिचेको छ। उनको सफलताले परिवार मात्र होइन, गृहक्षेत्रका खेलप्रेमीमा समेत उत्साह थपेको छ। यही पृष्ठभूमिमा क्षेत्रकै सांसद र नगरप्रमुखले मैदानमै पुगेर देखाएको चासोले खेलाडीको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर राहुलको चर्चा बढिरहँदा उनको गृहक्षेत्रका अन्य जनप्रतिनिधिको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थालेको छ। विशेषगरी राहुलको घर रहेको क्षेत्रसँग जोडिएका स्थानीय जनप्रतिनिधि तथा छिमेकी वडाका बासिन्दा प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले सार्वजनिक रूपमा बधाई तथा शुभकामना नदिएको विषयले ध्यान खिचेको छ। उनीहरूले बधाई नदिएको विषयमा भने सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया प्राप्त भएको छैन।खेलाडीको सफलता मैदानमा देखिएको प्रदर्शनमा मात्र सीमित हुँदैन; त्यसलाई संस्थागत समर्थन, प्रोत्साहन र आवश्यक अवसरले पनि थप उचाइ दिन सक्छ। राहुललाई कीर्तिपुरमै भेटेर शुभकामना दिएका फिरदोस र राजिकको कदमले खेलाडीको मनोबल बढाउन जनप्रतिनिधिको प्रत्यक्ष उपस्थिति कति अर्थपूर्ण हुन सक्छ भन्ने सन्देश दिएको छ।
सीमित आर्थिक अवस्था र चुनौतीका बीच क्रिकेटमा आफ्नो पहिचान बनाउँदै गरेका राहुलका लागि यस्ता हौसलाले आगामी यात्रामा थप प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ। अब उनको प्रतिभालाई प्रशंसामा मात्र सीमित नराखी प्रशिक्षण, खेल सामग्री र अवसरको पहुँच बढाउन सम्बन्धित निकायले कस्तो भूमिका खेल्छन् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ