रौतहट। स्थानीय तह निर्वाचनको चर्चा सुरु भएसँगै रौतहटको चन्द्रपुर नगरपालिकामा राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। विभिन्न राजनीतिक दलले संगठन विस्तार, वडा भेला तथा कार्यकर्ता भेटघाटलाई सक्रिय बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नगरप्रमुखका आकांक्षीहरू खुल्न थालेका छन्।
यसैक्रममा रास्वपाका संगठन विभागका निवर्तमान केन्द्रिय सदस्य उवं चन्द्रपुरका संस्थापक नगर सभापति तथा हाल चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटा ‘सुरेन्द्र’ले नगरप्रमुख पदमा आफ्नो आकांक्षा सार्वजनिक गरेका छन्। चन्द्रपुर १० मा पार्टीको च्ब्त् कमिटी गठन पछि कार्यक्रममा सहभागी सापकोटाले हाइवे न्यूज दैनिकका संवाददातासँग प्रतिक्रिया दिदै पत्रकार तथा कार्यकर्ताको उपस्थितिमा पार्टीको ‘क्यान्डिडेट क्लब’मा उम्मेदवारीका लागि आवेदन दिने घोषणा गरेका हुन्। 
रास्वपाको संगठन निर्माणमा सुरुवाती समयदेखि सक्रिय रहेका सापकोटा हाल पार्टीको संगठन समितिका पूर्व सदस्यसमेत हुन्। नगरप्रमुखको आकांक्षासहित अघि बढेका उनले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुने संकेत गरेका छन्।
यसअघि नै रास्वपाका चन्द्रपुर नगर सभापति अरुण लामा र तेजविक्रम कार्कीले क्यान्डिडेट क्लबमा आवेदन दिइसकेका छन्। सापकोटाको घोषणासँगै पार्टीभित्र नगरप्रमुखका आकांक्षीको सूची थपिएको छ। अब पार्टीको आन्तरिक प्रक्रियाले कसलाई उम्मेदवारका रूपमा अघि सार्छ भन्ने विषय चन्द्रपुरको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
शनिबार चन्द्रपुर नगरपालिका–१० मा च्ब्त् कमिटी गठन गरिएको छ। कमिटी गठनलाई पार्टीको संगठन विस्तार अभियानका रूपमा लिइएको छ। पछिल्लो समय चन्द्रपुरका विभिन्न वडामा पार्टीका नेता तथा कार्यकर्ताले भेला, बैठक र जनसंवादका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
कार्यक्रममा नगर समितिका उपसभापति राजकिशोर गुप्ता, नगर सदस्य सागर चौधरी, चन्द्रपुर संस्थापक सभापति सुरेन्द्र सापकोटन,वर्तमान नगरसभापति अरुण लामा,भुलावन साह, सञ्जय बैठा,प्रविण साह, राकेश साहलगायतको उपस्थिति थियो।
वडा सचिव उमेश साहले सञ्चालन गरेको कार्यक्रमको व्यवस्थापन पार्टी सदस्य रामबाबु पटेलले गरेका थिए।
चन्द्रपुरमा रास्वपासहित विभिन्न राजनीतिक दलका नेता तथा सम्भावित उम्मेदवारहरू आ–आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्न सक्रिय देखिएका छन्। वडा तहदेखि नगरस्तरसम्म भइरहेका भेला र भेटघाटले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नगरको राजनीतिक वातावरण क्रमशः चलायमान बनाउँदै लगेको छ।