चन्द्रपुर — विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेष्ट आवासीय विद्यालयले खेलकुद सप्ताह सुरु गरेको छ।
विद्यालय परिसरमा आयोजित खेलकुद सप्ताहको उद्घाटन रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले गरेका हुन्। विद्यालयका प्रिन्सिपल शोभा वाग्ले पौडेलको निमन्त्रणामा आयोजित कार्यक्रममा सांसद पौडेलले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्त्वपूर्ण आधार भएको बताए।
उनले खेलकुदले विद्यार्थीमा शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गराउने उल्लेख गर्दै विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताए। विद्यालयले खेलकुद सप्ताह आयोजना गरेर विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको भन्दै उनले प्रशंसा गरे।
कार्यक्रममा विद्यार्थीहरूले खेल कप्तानको नेतृत्वमा आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। मार्चपाससँगै खेलकुद सप्ताहको औपचारिक सुरुवात गरिएको थियो। उद्घाटनपछि विद्यालयमा विभिन्न खेलकुद प्रतियोगितासमेत सुरु भएका छन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द्रपुर नगर सभापति अरुण लामा, नगर उपसभापति राजकिशोर गुप्ता, फुटबल संघका अध्यक्ष भगवान दर्लामिस, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपक रेग्मीलगायतको उपस्थिति थियो।
त्यस्तै रीजन अधिकारी, सञ्जीव पटेल, चन्द्रपुर एकेडेमी क्रिकेटका संस्थापक देवराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। विद्यालयका संस्थापक जनकराज भारतीको महत्त्वपूर्ण भूमिका तथा विद्यालय परिवारको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो।
विद्यालयले विद्यार्थीको किताबी ज्ञानसँगै खेलकुद, सिर्जनशीलता र नेतृत्व विकासलाई पनि शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको जनाएको छ। खेलकुद सप्ताहले विद्यार्थीबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने विद्यालयको अपेक्षा छ।