चन्द्रपुर, रौतहट। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको र सुधारका प्रयास प्रभावकारी हुन नसकेको बहस भइरहेका बेला रौतहटको चन्द्रपुरमा शिक्षा क्षेत्रका समस्या पहिचान र समाधानका उपाय खोज्न नीति निर्माता तथा सरोकारवाला एउटै मञ्चमा जुटेका छन्।
चन्द्रपुर नगरपालिकाको समन्वयमा ‘विद्यालय शिक्षा क्षेत्रको सुधार, चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियात्मक छलफल कार्यक्रम दुर्गा माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। सामुदायिक विद्यालयमा देखिएका समस्या पहिचान गरी तिनको दिगो समाधान खोज्ने तथा शैक्षिक गुणस्तर सुधारका लागि साझा कार्यदिशा तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नगर शिक्षा समितिका प्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता थियो। तर, कार्यक्रमको समन्वय गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुख भने आफ्नो कार्यव्यस्तताका कारण उपस्थित हुन सकेनन्।
शिक्षा क्षेत्रसँग सम्बन्धित यस कार्यक्रमको प्रमुख आतिथ्य प्रतिनिधिसभा सदस्य गणेश पौडेलले गरेका थिए। सहभागीहरूका अनुसार चन्द्रपुरमा शैक्षिक सुधारका विषयमा नीति निर्माण तहका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रतिनिधि एउटै स्थानमा बसेर प्रत्यक्ष छलफल गरेको यो पहिलो कार्यक्रम हो। उनीहरूले यसलाई स्थानीय तहको शैक्षिक सुधारका दृष्टिले ऐतिहासिक पहलका रूपमा लिएका छन्।
कार्यक्रमपछि दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले खुसी व्यक्त गर्दै नीति निर्माण तहका जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा स्थानीय शिक्षाको अवस्थाबारे छलफल हुनुले सकारात्मक आशा जगाएको बताए। उनका अनुसार विद्यालयका समस्या र चुनौतीबारे प्रत्यक्ष संवाद गर्ने अवसरले शिक्षक, अभिभावक र समुदायलाई शिक्षाको गुणस्तर सुधारमा थप जिम्मेवार बन्न प्रेरित गर्नेछ।
प्रतिनिधिसभा सदस्य पौडेलले पनि शिक्षामा गम्भीर चिन्ता राख्ने अभिभावक, शिक्षक तथा समुदायलाई प्रत्यक्ष रूपमा जोड्दै नयाँ उत्साहका साथ अघि बढ्न यस किसिमको छलफलले बल पुग्ने बताएका छन्।
शिक्षा सुधारको टड्कारो आवश्यकता
लामो समयदेखि अपेक्षित सुधार हुन नसकेको सामुदायिक शिक्षाको जग बलियो बनाउन यस्ता छलफल र अन्तरक्रियाको आवश्यकता महसुस हुँदै आएको छ। चन्द्रपुरका सामुदायिक विद्यालयले भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति तथा नीतिगत समन्वयको अभावजस्ता चुनौती सामना गर्दै आएका छन्। यस्तो अवस्थामा विद्यालय तहका समस्या र समाधानका उपायबारे नीति निर्माण तहसम्म प्रत्यक्ष संवाद हुनु समयसापेक्ष मानिएको छ।
स्थानीय आवश्यकता र माथिल्लो तहको नीतिबीच समन्वय स्थापित गर्दै विद्यालयका वास्तविक समस्या समाधान गर्ने दिशामा यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। छलफलमा उठेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सम्बन्धित निकायले निरन्तर पहल गर्न सके चन्द्रपुरको सामुदायिक शिक्षा सुधारका लागि यो कार्यक्रम एउटा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न सक्ने सहभागीहरूको विश्वास छ।