रौतहट। त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा आफूहरूमाथि विभेद र अन्याय भएको भन्दै वीरगञ्जका घरधनी तथा व्यापारीहरू न्याय माग्न काठमाडौँको माइतीघर मण्डलामा पुगेका छन्।
‘वीरगञ्ज मुख्य सडकवासी पीडित समिति’को ब्यानरमा आइतबार दिउँसो करिब २ बजे माइतीघरमा भेला भएका उनीहरूले सर्वोच्च अदालत र नेपाल सरकारसँग न्याय तथा उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।
वीरगञ्जबाट काठमाडौँ पुगेका घरधनी राजेश सौनियार, जवाहीर प्रसाद गुप्ता, कुन्दन रौनियारलगायतले विभिन्न मागसहितका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागिता जनाएका थिए।
प्रदर्शनकारीहरूको मुख्य असन्तुष्टि एउटै त्रिभुवन राजमार्गअन्तर्गत पर्ने काठमाडौँ–हेटौँडा र वीरगञ्ज खण्डमा सर्वोच्च अदालतबाट फरक–फरक फैसला आएको भन्ने विषयमा छ। एउटै राजमार्गका विभिन्न खण्डमा फरक मापदण्ड र व्यवहार अपनाइएको भन्दै उनीहरूले राज्यको निर्णयमाथि प्रश्न उठाएका हुन्।
‘एउटै त्रिभुवन राजमार्गमा सर्वोच्च अदालतको फैसला फरक–फरक किन ?’ भन्दै उनीहरूले राज्यले नागरिकलाई समान व्यवहार गर्नुपर्ने माग गरे। आफूहरूले दशकौँदेखि वैधानिक रूपमा सम्पत्ति भोगचलन गर्दै आएको र नियमित रूपमा राज्यलाई कर बुझाउँदै आएको उल्लेख गर्दै उनीहरूले संविधानले सुनिश्चित गरेको समानताको हक र सम्पत्तिको अधिकारको संरक्षण हुनुपर्ने बताएका छन्।
प्रदर्शनमा सहभागी घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा हुँदाहुँदै उचित मुआब्जा तथा क्षतिपूर्तिको व्यवस्था नगरी आवास र सम्पत्ति हटाउन खोजिएको आरोप लगाए। उनीहरूका अनुसार सडक विस्तारको नाममा नागरिकको सम्पत्ति र आवासको अधिकारलाई बेवास्ता गर्न मिल्दैन।
प्रदर्शनकारीहरूले वीरगञ्जका सडक किनारका घरधनीलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन, संविधानप्रदत्त आवास तथा सम्पत्तिको मौलिक हक सुनिश्चित गर्न र वीरगञ्जवासीमाथि विभेदकारी नीति तथा निर्णय अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
माइतीघरमा भेला भएका उनीहरूले ‘न्याय देऊ, न्याय देऊ’ र ‘नेपाल सरकार, वीरगञ्जवासीलाई न्याय र क्षतिपूर्ति देऊ’ लगायतका नारा लगाउँदै आफ्नो मागप्रति राज्यको ध्यानाकर्षण गराए।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै उनीहरूले सडक विस्तार विकासका लागि आवश्यक भए पनि त्यसका नाममा नागरिकलाई उचित क्षतिपूर्तिबिना विस्थापित गर्न नहुने बताएका छन्।