चन्द्रपुर (रौतहट) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगरपालिका–१० वडा समितिको आयोजनामा दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा रास्वपा चन्द्रपुर नगर सभापति अरुण लामा, उपसभापति राजकिशोर गुप्ता, नगर सचिव मुकुन्द पौडेल, नगर सदस्य प्रमिला उपाध्याय तथा नेता उदय नारायण सापकोटाको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले देश अहिले परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै आफूलाई निर्वाचनमा विजयी गराउन जनताले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे। उनले आगामी स्थानीय तहको निर्वाचनमा पनि एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
नगर सभापति लामाले जनताले आफ्नो भाग्य आफैं निर्माण गर्ने समय आएको बताए। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। चन्द्रपुरका सबै वडामा सक्षम, इमानदार र भ्रष्टाचारमुक्त व्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीभित्र कसैलाई काखा र कसैलाई पाखा नगरी निष्पक्ष ढंगले अघि बढ्ने बताए।
त्यस्तै रास्वपाका संगठन विभागका निवर्तमान केन्द्रीय सदस्य तथा चन्द्रपुरका संस्थापक नगर सभापति एवं हाल चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा ‘सुरेन्द्र’ले जनताको सुखदुःखमा साथ दिने र जनतामाझ रहेर काम गर्ने व्यक्तिले मात्रै पार्टीबाट टिकट पाउने बताएका छन्।
उनले संघीयता कार्यान्वयनपछिको तेस्रो निर्वाचनमा समेत पुरानै मुद्दा र आश्वासन लिएर जनतामाझ पुग्ने नेतृत्वलाई जनताले अस्वीकार गर्ने धारणा राखे। अबको राजनीति भाषण र चुनावी आश्वासनमा सीमित नभई जनतासँगको प्रत्यक्ष सम्बन्ध, जवाफदेहिता र कामका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
वडा नम्बर १० का सभापति भुलवन शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा उपसभापति सञ्जय बैठा, सचिव उमेश शाहसहित स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता थियो।
कार्यक्रममा सहभागीहरूले पर्वको शुभकामना साटासाट गर्दै स्थानीय स्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने र जनतासँगको सम्बन्ध विस्तार गर्ने विषयमा जोड दिएका थिए।