रौतहट, १७ कात्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीका विभिन्न पदमा ९ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नगरपालिकाले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवल्दार २ जना र नगर प्रहरी जवान ६ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो।
नगरपालिकाको स्वीकृत दरबन्दीअनुसार खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
नगरप्रमुख सञ्जयकुमार काफ्लेले नगरभित्र शान्ति सुरक्षा कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न तथा नगरपालिकाका विभिन्न गतिविधिको प्रभावकारी रेखदेख र व्यवस्थापन गर्न नगर प्रहरीको आवश्यकता रहेको बताए। उनले नगर प्रहरी परिचालन भएपछि बजार व्यवस्थापन, सार्वजनिक स्थलको संरक्षण, नगरपालिकाका निर्णय तथा नियम कार्यान्वयन र नगर क्षेत्रको निगरानीमा थप सहजता हुने अपेक्षा गरिएको बताए।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले नगर प्रहरीलाई नगरपालिकाको सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने महत्वपूर्ण जनशक्तिका रूपमा विकास गरिने बताए। उनका अनुसार नगर प्रहरीको जिम्मेवारी नगरभित्रको शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्ने, सार्वजनिक सम्पत्ति तथा संरचनाको संरक्षण गर्ने, बजार र सडक व्यवस्थापनमा सहजीकरण गर्ने तथा नगरपालिकाले तोकेका कामकारबाही कार्यान्वयनमा सहयोग पुर्याउने हुनेछ। उनले भर्ना प्रक्रिया खुला प्रतिस्पर्धात्मक र निर्धारित मापदण्डअनुसार अघि बढाइने जानकारी दिए।
सूचनाअनुसार सहायक निरीक्षक पदका लागि प्रविणता प्रमाणपत्र तह (१०+२) वा सोसरह उत्तीर्ण हुनुपर्नेछ भने हवल्दार र जवान पदका लागि एसईई वा सोसरह उत्तीर्ण हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता तोकिएको छ। सहायक निरीक्षकका लागि ५०० रुपैयाँ, हवल्दारका लागि ४०० रुपैयाँ र जवानका लागि ३०० रुपैयाँ दरखास्त दस्तुर निर्धारण गरिएको छ।
उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा कम्तीमा तीन वर्ष सेवा गरेको वा भारतीय सेना तथा बेलायती सेनामा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था सूचनामा उल्लेख छ।
त्यस्तै, फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, सरकारी अस्पतालबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको तथा सरकारी सेवाका लागि अयोग्य नरहेको हुनुपर्नेछ। शारीरिक मापदण्डअन्तर्गत पुरुषको उचाइ कम्तीमा पाँच फिट एक इन्च र तौल ५० केजी तथा महिलाको उचाइ पाँच फिट र तौल ४२ केजी हुनुपर्नेछ।
भर्ना छनोट प्रक्रिया प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा (दौड, पुसअप, चिनअप आदि), लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र अन्तर्वार्तामार्फत अघि बढाइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार पदपूर्ति गरिने सम्पूर्ण पदलाई शतप्रतिशत मानी कम्तीमा ३३ प्रतिशत पद महिला उम्मेदवारबाट पूर्ति गरिनेछ।
दरखास्त फाराम नगरपालिकाको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ। आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, पासपोर्ट साइजका तीनवटा फोटो र आवश्यक सेवा अनुभव प्रमाणित हुने कागजात संलग्न गर्नुपर्नेछ। लिखित तथा शारीरिक परीक्षाको कार्यतालिका दरखास्त दिने म्याद समाप्त भएपछि सार्वजनिक गरिने सूचनामा उल्लेख छ।
थप जानकारी तथा सूचनाका लागि नगरपालिकाको आधिकारिक वेबसाइट www.chandrapurmun.gov.np मा हेर्न सकिनेछ।
