६ महिनासम्म गाउँसभा हुन सकेन, विकास निर्माणदेखि कर्मचारीको तलब र नागरिकको दैनिक सेवासमेत प्रभावित
*कार्तिक २१, रौतहट*
रौतहटको यमुनामाई गाउँपालिका पछिल्लो समय आन्तरिक विवाद, जनप्रतिनिधिबीचको असमझदारी र प्रशासनिक निष्क्रियताका कारण अस्तव्यस्त बन्दै गएको छ। गाउँपालिकाभित्र जनप्रतिनिधिबीच देखिएको विवादलाई समाधान गर्नुको सट्टा प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन साहले नै विवाद थप चर्काउने भूमिका खेलेको आरोप लागेको छ।
गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चेतन राय यादवले प्रमुख प्रशासकीय अधिकृत साहमाथि निर्वाचित जनप्रतिनिधिबीच आपसी मनमुटाव सिर्जना गरी एकअर्कालाई प्रतिस्पर्धी बनाउने र गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणको काम प्रभावित पार्ने गरेको गम्भीर आरोप लगाएका छन्।
वडाध्यक्ष यादवका अनुसार गाउँपालिका सञ्चालनमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत दुवैको महत्वपूर्ण भूमिका हुन्छ। जनप्रतिनिधिले जनताको आवश्यकता र विकासका योजनालाई प्राथमिकता दिनुपर्ने हुन्छ भने प्रशासनिक नेतृत्वले कानुनी प्रक्रिया र पारदर्शी कार्यान्वयनमा सहयोग गर्नुपर्ने हुन्छ। तर प्रमुख प्रशासकीय अधिकृतले आफ्नो भूमिका निर्वाह गर्नुको सट्टा विवाद बढाएको उनको भनाइ छ।
६ महिनादेखि गाउँसभा ठप्प
गाउँपालिकामा विगत ६ महिनादेखि गाउँसभा बस्न नसक्दा बजेट, योजना, विकास निर्माण, कर्मचारीको तलब भुक्तानी र नागरिकले पाउने दैनिक सेवा समेत प्रभावित भएको स्थानीयको गुनासो छ। गाउँसभा नहुँदा नयाँ योजना स्वीकृत हुन सकेका छैनन् भने पुराना योजना पनि अलपत्र परेका छन्।
स्थानीयले पालिकाको अस्तव्यस्त अवस्थाका कारण जन्मदर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका काममा समेत ढिलाइ भइरहेको बताएका छन्।
छानबिन र समाधानको माग
वडाध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीमाथि उच्च निकायले छानबिन गरी गाउँपालिकालाई सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग गरेका छन्। जनप्रतिनिधिबीचको विवाद समाधान गरी गाउँसभा तत्काल बोलाउनुपर्ने उनको माग छ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समावेश गरिनेछ।