चन्द्रपुरका निजी अस्पताल तथा स्वास्थ्य संस्थाका सञ्चालकसँग सांसद पौडेलको अन्तर्क्रिया
रौतहट । चन्द्रपुरमा स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र सुधारका सम्भावनाबारे प्रतिनिधिसभा सदस्य मा.गणेश पौडेलसँग अन्तर्क्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
चन्द्रनिगाहपुरस्थित गोल्डेन ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा चन्द्रपुर नगरपालिका अन्तर्गत सञ्चालित निजी अस्पताल तथा स्वास्थ्य संस्थाका सञ्चालक, स्वास्थ्यकर्मी तथा सरोकारवालाले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र माग राखेका थिए।
चन्द्रपुर नगरपालिकाको समन्वय तथा निजी अस्पताल र स्वास्थ्य संस्थाको व्यवस्थापनमा आयोजित कार्यक्रममा सहभागीहरूले स्वास्थ्य संस्थाको दर्ता प्रक्रिया, अस्पताल सञ्चालनका मापदण्ड, ब्लड बैंकको व्यवस्थापन, फार्मेसी सञ्चालन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलगायतका विषय उठाएका थिए।
कार्यक्रममा एक सहभागीले अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई पालिकाले दर्ता तथा सञ्चालनको प्रक्रिया सहज बनाउनुपर्ने माग राखे। मापदण्ड पूरा गरेर सेवा दिन तयार रहेका स्वास्थ्य संस्थालाई प्रशासनिक प्रक्रियाका कारण असहज अवस्था सिर्जना हुन नदिन स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, चन्द्रपुरमा बिरामीलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउन निःशुल्क ब्लड बैंक व्यवस्थापनको व्यवस्था गर्नुपर्ने मागसमेत सहभागीले राखेका थिए। स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपचारसँगै रगतको उपलब्धता पनि सुनिश्चित हुनुपर्ने उनीहरूको जोड थियो।
कार्यक्रममा फार्मेसी व्यवसाय सञ्चालनसम्बन्धी समस्या पनि उठाइएको थियो। एक सहभागीले लामो समयदेखि फार्मेसी व्यवसाय सञ्चालन गर्दै आएको अवस्थामा आगामी दिनमा आफ्ना सन्ततिले समेत उक्त व्यवसायलाई निरन्तरता दिन सक्ने वातावरण बनाउनुपर्ने माग गरे। फार्मेसी सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्थापनलाई सहज बनाउनुपर्ने उनको आग्रह थियो।
सहभागीहरूले चन्द्रपुरको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र भरपर्दो बनाउन स्थानीय तहदेखि संघीय तहसम्मका निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए। निजी स्वास्थ्य संस्थाले पनि नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ थियो।
सहभागीका जिज्ञासा तथा मागको जवाफ दिँदै सांसद गणेश पौडेलले स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। विशेषगरी फार्मेसी व्यवसाय सञ्चालन तथा त्यसलाई पुस्तान्तरण गर्दै निरन्तरता दिन आवश्यक पर्ने व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने उनले बताए।
स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय भएकाले यस क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने पौडेलको भनाइ थियो। स्वास्थ्य संस्थाहरू व्यवस्थित र मापदण्डअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले चन्द्रपुरको समग्र स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारका लागि सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा उठेका विषयले चन्द्रपुरको स्वास्थ्य क्षेत्रका वास्तविक समस्या र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। निजी तथा सरकारी स्वास्थ्य संस्थाबीच समन्वय बढाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रमको अध्यक्षता नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख संतोष ठाकुर गरेको थिया भन्ने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बद्रिराज ढकाल,चन्द्रपुर नगर उद्योग वाणीज्य संघका अध्यक्ष उदयनरायण सापकोटा,स्वास्थ्य क्षेत्रका प्रतिनिधि, सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, निजी अस्पताल तथा स्वास्थ्य संस्थाका सञ्चालक र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।