चन्द्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय संगठन विभागका पूर्व सदस्य, चन्द्रपुरका संस्थापक सभापति तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष उदयनारायण सापकोटा ‘सुरेन्द्र’ले आगामी स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगर प्रमुख पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने संकेत गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले आह्वान गरेको उम्मेदवार क्लबमा नगर प्रमुख पदका लागि आवेदन दिने घोषणा गरेका हुन्।
सापकोटाले शुभेच्छुक, शुभचिन्तक, उद्योगी, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, राष्ट्रसेवक तथा अग्रज–अनुजबाट आफूलाई प्राप्त भइरहेका जिज्ञासाबारे सम्बोधन गर्दै चाँडै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका छन्। पार्टीका केही सांगठनिक जिम्मेवारी र पूर्वतयारीका काम बाँकी रहेकाले उम्मेदवार क्लबमा आवेदन दिन ढिलाइ भएको उनको भनाइ छ।
‘आफ्ना जिम्मेवारीका केही काम पूरा गरी तपाईंहरूकै सल्लाह, सुझाव र मार्गनिर्देशनअनुसार चाँडै राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको उम्मेदवार क्लबमा चन्द्रपुर नगर प्रमुख पदमा आवेदन दिनेछु,’ उनले फेसबुकमा लेखेका छन्।
सापकोटाको यो घोषणालाई चन्द्रपुरको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी रास्वपाभित्र नगर प्रमुखका आकांक्षीहरू थपिँदै गएको चर्चाका बीच उनको सार्वजनिक घोषणाले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ।
रास्वपाको संगठन विस्तारको प्रारम्भिक चरणदेखि नै सक्रिय रहेका सापकोटा चन्द्रपुरमा पार्टीका संस्थापक नगर सभापति हुन्। रौतहटमा रास्वपाको संगठनात्मक उपस्थिति कमजोर र सीमित रहेको समयमा उनले चन्द्रपुरको नेतृत्व सम्हाल्दै पार्टीको आधार निर्माणमा भूमिका खेलेका थिए। संगठन विस्तार, राजनीतिक गतिविधि र स्थानीयस्तरमा पार्टीको पहिचान स्थापित गर्ने काममा उनको योगदानलाई चन्द्रपुरमा रास्वपाको प्रारम्भिक यात्रासँग जोडेर हेर्ने गरिन्छ।
पार्टी संगठनबाहेक व्यवसायिक तथा सामाजिक क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ। चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वमा दोस्रोपटक पुग्नु उनको अर्को राजनीतिक–सामाजिक परिचय बनेको छ। उद्योगी–व्यवसायीको साझा संस्थाको नेतृत्व चयनका क्रममा विभिन्न राजनीतिक पक्ष र समूहबीच प्रतिस्पर्धा देखिएको अवस्थामा उनले अध्यक्षमा सफलता हासिल गरेका थिए। राजनीतिक दलहरूको साथ र समर्थनको समीकरणभन्दा बाहिर रहेर पनि नेतृत्वमा पुग्न सक्नु उनको स्थानीय पकड र व्यक्तिगत सम्बन्धको चर्चित पक्षका रूपमा लिइन्छ।
व्यवसायी, सर्वसाधारण र विभिन्न सामाजिक क्षेत्रका व्यक्तिसँग सहज रूपमा घुलमिल हुने, उनीहरूका समस्या सुन्ने र समाधानका लागि सम्बन्धित निकायसम्म आवाज पुर्याउने उनको कार्यशैलीलाई उनका समर्थकहरूले नेतृत्वको बलियो पक्षका रूपमा प्रस्तुत गर्दै आएका छन्। स्थानीयस्तरमा जनतासँगको निरन्तर सम्पर्क, सामाजिक गतिविधिमा सहभागिता र संवाद गर्ने शैलीले पनि उनलाई चन्द्रपुरको सार्वजनिक वृत्तमा परिचित बनाएको छ।
चन्द्रपुर नगर प्रमुखको आकांक्षा राख्ने अन्य नेताहरूको चर्चा चलिरहेका बेला सापकोटाको उम्मेदवार क्लबमा प्रवेश गर्ने घोषणाले रास्वपाभित्रको प्रतिस्पर्धा थप पेचिलो बन्ने देखिएको छ। नगर उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा निर्माण भएको व्यवसायिक सम्बन्ध, पार्टी स्थापनाकालदेखिको सांगठनिक अनुभव र स्थानीयस्तरमा बनाएको व्यक्तिगत सम्पर्कलाई उनले राजनीतिक यात्रामा कसरी उपयोग गर्छन् भन्ने चासो पनि बढेको छ।
यद्यपि उम्मेदवार क्लबमा आवेदन दिनु नै पार्टीको अन्तिम उम्मेदवार चयन हुनु होइन। पार्टीको छनोट प्रक्रिया, संगठनभित्रको प्रतिस्पर्धा र स्थानीय राजनीतिक परिस्थितिले अन्तिम निर्णय निर्धारण गर्नेछ। तर सापकोटाले स्वयं नगर प्रमुख पदमा आवेदन दिने घोषणा गरेसँगै चन्द्रपुरमा रास्वपाको सम्भावित उम्मेदवारको बहसमा उनको नाम औपचारिक रूपमा अगाडि आएको छ।