चन्द्रनिगाहपुर — रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ५ स्थित ऐतिहासिक छठघाटको पूर्वाधार विकासमा प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री युवराज भट्टराई ‘समीर’ र चन्द्रपुर नगरप्रमुख सञ्जयकुमार काफ्लेको बजेट जोडिएको छ। भट्टराईको पहलमा प्राप्त बजेटबाट निर्माण गरिएको फाउन्डेसनमाथि नगरपालिकाको बजेटबाट ट्रस्ट निर्माण सम्पन्न भएपछि छठघाटले नयाँ स्वरूप पाएको छ।
दुर्गा पूजा तथा छठ पूजा समितिका सचिव गणेशप्रसाद साहका अनुसार प्रदेशसभा सदस्य भट्टराईको पहलमा उपलब्ध बजेटबाट यसअघि घाटको फाउन्डेसन निर्माण गरिएको थियो। त्यसपछि नगरप्रमुख काफ्लेको नेतृत्वमा रहेको चन्द्रपुर नगरपालिकाबाट बजेट विनियोजन भएपछि चालु वर्ष फाउन्डेसनमाथि ट्रस्ट निर्माणको काम सम्पन्न भएको हो।
दुई चरणमा गरिएको बजेट व्यवस्थापन र निर्माण कार्यले वर्षौंदेखि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त घाटको संरचनागत विकासमा सहयोग पुगेको साहको भनाइ छ। फाउन्डेसन निर्माणपछि ट्रस्ट निर्माण सम्पन्न भएसँगै अब छठ पर्वका लागि मात्रै नभई अन्य धार्मिक तथा सामाजिक गतिविधिका लागि समेत घाट उपयोगी हुने भएको छ।
समितिका उपाध्यक्ष रामायण साहले निर्माण सम्पन्न भएको ट्रस्टले स्थानीयवासीको लामो समयदेखिको अपेक्षा पूरा गर्न सहयोग पुगेको बताए। उनका अनुसार यस वर्ष उक्त ऐतिहासिक घाटमा करिब १० हजार व्रतालु तथा श्रद्धालु भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ।
‘पहिलो चरणमा युवराज भट्टराई समीरको पहलमा फाउन्डेसन निर्माण भयो। त्यसपछि नगरप्रमुख सञ्जयकुमार काफ्लेको नेतृत्वमा नगरपालिकाले बजेट उपलब्ध गराएपछि ट्रस्ट निर्माण सम्पन्न भएको छ। दुवै चरणको कामले हाम्रो घाटलाई व्यवस्थित बनाउन ठूलो सहयोग पुगेको छ,’ साहले भने।
समितिका सचिव साहका अनुसार ट्रस्ट निर्माणसँगै छठ पर्वपछि पनि घाटको उपयोगिता रहनेछ। बोलबमका श्रद्धालु, धार्मिक कार्यक्रम तथा सामूहिक भेटघाट र पिकनिकका लागि समेत उक्त संरचना प्रयोग गर्न सकिनेछ। यसले घाटलाई वर्षको एकपटक मात्रै प्रयोग हुने स्थानबाट नियमित धार्मिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने समितिको अपेक्षा छ।
निर्माण सम्पन्न भएपछि दुर्गा पूजा तथा छठ पूजा समितिका पदाधिकारी र सदस्यहरू उत्साहित भएका छन्। स्थानीयवासीले पनि जनप्रतिनिधिहरूको बजेट र सहकार्यबाट धार्मिक स्थलको पूर्वाधार विकास भएको भन्दै खुसी व्यक्त गरेका छन्।
समितिका सचिव साहले घाटको विकासलाई निरन्तरता दिन हरेक वर्ष नगरपालिकाले आवश्यकताअनुसार बजेट विनियोजन गर्दै थप संरचना निर्माणमा सहयोग गर्नुपर्ने बताए। ‘वर्षैपिच्छे केही–केही बजेट छुट्याएर घाटलाई अगाडि बढाउँदै जाने हो भने यसलाई अझ व्यवस्थित र आकर्षक बनाउन सकिन्छ,’ उनले भने।
यसैबीच, निर्माण सम्पन्न भएको ट्रस्टको यही कात्तिक २९ गते प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री युवराज भट्टराई ‘समीर’ र चन्द्रपुर नगरप्रमुख सञ्जयकुमार काफ्लेले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष सुरेन्द्र प्रसाद कलवारले जानकारी दिए। उद्घाटन समारोहलाई विशेष र भव्य बनाउन समितिले आवश्यक तयारी गरिरहेको उनले बताए।
उपाध्यक्ष साहले उक्त उद्घाटन समारोहमा सम्पूर्ण वडावासी, नगरवासी, समितिका पदाधिकारी तथा सदस्य र श्रद्धालु भक्तजनलाई उपस्थितिका लागि आग्रह गरेका छन्। सबैको सहभागिताले ट्रस्ट उद्घाटन समारोहसँगै यस वर्षको छठ पूजालाई पनि भव्य र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
चन्द्रपुर–४ र ५ का बासिन्दाको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको उक्त ऐतिहासिक घाटमा ट्रस्ट निर्माण सम्पन्न भएपछि यस वर्षको छठ पर्वलाई लिएर स्थानीयवासीमा थप उत्साह देखिएको छ। करिब १० हजार व्रतालु तथा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको घाटमा यस वर्षको छठ पूजा विशेष हुने समितिको विश्वास छ।