चन्द्रनिगाहपुर — तिहारको अवसरमा खेलिने देउसी–भैलो पछिल्लो समय मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गएको भन्दै चन्द्रपुरमा मौलिक संस्कृति संरक्षणको उद्देश्यसहित सुरु गरिएको अभियानले निरन्तरता पाएको छ। नागरिक समाज संस्थाका अध्यक्ष महारत्न विष्टको अगुवाइमा २०७२ सालदेखि सञ्चालन हुँदै आएको ‘देउसी–भैलो संस्कृति संरक्षण अभियान’ यस वर्ष पनि स्थानीयको उल्लेख्य सहभागितामा सम्पन्न भएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र सनातन संस्कारको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको अध्यक्ष विष्टले बताए। उनका अनुसार सुरुवाती चरणमा सीमित स्रोतसाधनका बीच आफ्नै खर्चमा टोपी र गम्छाको व्यवस्था गरेर अभियान अघि बढाइएको थियो। पछिल्लो समय स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, व्यवसायी तथा सर्वसाधारणको सहयोग जुट्न थालेपछि कार्यक्रम थप व्यवस्थित बन्दै गएको छ।
कोभिड–१९ महामारीका कारण केही वर्ष अभियान प्रभावित भए पनि यसको उद्देश्य र निरन्तरतामा कमी आउन नदिएको विष्टले बताए। पछिल्ला दुई–तीन वर्षदेखि वडा कार्यालय तथा नगरपालिकाबाट समेत टोपी र गम्छा व्यवस्थापनमा सहयोग प्राप्त हुँदै आएको उनको भनाइ छ।
यस वर्षको कार्यक्रममा करिब एक सयदेखि डेढ सय जनाको सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत भेषभूषा, देउसी–भैलो, नाचगान तथा सांस्कृतिक प्रस्तुतिसहित चन्द्रपुरका विभिन्न स्थानमा यात्रा गरेका थिए। हवलदारनी आमाको चिया पसलबाट सुरु भएको यात्रा आरोही होटल लगायत ट्राफिक चोक हुँदै पश्चिम र दक्षिणतर्फ चौधरी चिया पसलसम्म पुगेको थियो। त्यसपछि पुनः हल्दानीमा पुगेर कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का पूर्व प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, वर्तमान प्रतिनिधिसभा सदस्य गणेश पौडेल, मधेस प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य युवराज भट्टराई सहभागी थिए। त्यस्तै, चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्ले, वडा नम्बर ४ का अध्यक्ष रवि राना मगर, वडा नम्बर ५ का अध्यक्ष निलहरि कोइराला, वडा नम्बर ६ का अध्यक्षलगायत नगरपालिकाका अधिकांश वडाध्यक्षको उपस्थिति थियो।
राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको समेत सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सभापति अरुण लामा, संस्थापक नगर सभापति उदयनारायण सापकोटा, नेकपा एमालेका नगर सभापति शिव आचार्य, पूर्व संविधानसभा सदस्य रामकुमार भट्टराई, देवकी नेपाललगायतको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दल र विचारधारामा आबद्ध व्यक्तिहरू एउटै सांस्कृतिक अभियानमा सहभागी हुनु सकारात्मक पक्ष रहेको अध्यक्ष विष्टले बताए। उनका अनुसार यो कुनै राजनीतिक दल वा समूहविशेषको कार्यक्रम नभई सबै समुदाय र नागरिकको साझा सांस्कृतिक अभियान हो। राजनीति र विचार फरक भए पनि कला, संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएको उनको भनाइ छ।
अभियानलाई सफल बनाउन स्थानीयस्तरबाट विभिन्न व्यक्तित्व तथा संस्थाले सहयोग गरेका छन्। चन्दन कार्कीले साउणड सिस्टम सहयोग गरेको उल्लेख गर्दै विष्टले यस वर्ष देउसी–भैलोका लागि आवश्यक माला व्यवस्थापनमा देविन्द्र रियल जग्गा कारोबारले सहयोग गरेको जानकारी दिए। टोपी तथा गम्छाको व्यवस्थापनमा नगरप्रमुख सञ्जय काफ्लेले सहयोग गरेको र चिया तथा अन्य आवश्यक व्यवस्थापनमा नाम सार्वजनिक नगर्ने सर्तमा केही सहयोगीले साथ दिएको उनले बताए।
अध्यक्ष विष्टले अभियानलाई निरन्तरता दिन स्थानीय युवा, समाजसेवी, व्यवसायी, जनप्रतिनिधि तथा अग्रजहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले आगामी पुस्ताले पनि आफ्नो मौलिक संस्कृति चिन्ने, बुझ्ने र त्यसको संरक्षणमा सहभागी हुने वातावरण निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको उल्लेख गरे।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान; यसको संरक्षण हामी सबैको अभियान’ भन्ने सन्देशसहित अघि बढाइएको अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने आयोजकको भनाइ छ। देउसी–भैलोलाई केवल मनोरञ्जनको माध्यम नभई सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचान जोड्ने अवसरका रूपमा स्थापित गर्ने प्रयास भइरहेको विष्टले बताए।