रौतहट । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको २ दिने राजकीय भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयहरु टुङ्गो लाग्ने दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ।
प्रधानमन्त्री शाहको प्रारम्भिक भ्रमण तालिका अनुसार, उनी मंसिर ६ गते दिउँसो काठमाडौंबाट नेपाल एयरलाइन्सको उडानमार्फत भारतको राजधानी नयाँ दिल्ली जानेछन्।
भोलिपल्ट मंसिर ७ गते विभिन्न कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्कने गरी भ्रमण तालिका तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदुतावासका अधिकारीले नेपालखबरलाई जानकारी दिएका छन्।
प्रधानमन्त्री शाह दिल्ली विमानस्थलमा पुग्दा भारतको केन्द्रीय सरकारका मन्त्रीले स्वागत गर्ने भारतीय तयारी रहेको दिल्लीस्थित नेपाली अधिकारीहरु बताउँछन्।
मंसिर ६ गते प्रधानमन्त्री शाह दिल्ली अवतरण गरेपछि भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।
मंसिर ६ मा दिल्लीस्थित नेपाली दुतावासले प्रधानमन्त्रीको सम्मनमा डिनर आयोजना गरेको छ। प्रधानमन्त्री शाहको बसाई भने ताज महल (ताजमान सिंह होटल) वा ताज प्यालेसमध्ये एकमा हुने बताइएको छ। यी दुवै होटल इन्डियन होटल्स कम्पनी लिमिटेडले सञ्चालन गरेको ताज होटल ब्राण्ड अन्तर्गतका पाँच तारे होटल हुन्।
मंसिर ६ को साँझ प्रधानमन्त्री शाह बसेकै होटलमा भारतीय विदेश मन्त्री एस जयशंकरले भेट गर्ने कार्यक्रम छ। त्यसैदिन भारतीय गृहमन्त्री अमित शाह र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि होटलमै प्रधानमन्त्री शाहसँग भेट गर्नेछन्।
त्यसैगरी, प्रधानमन्त्री शाहको सम्मानमा मंसिर ७ को विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको कार्यक्रम राखिएको छ। जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्।
त्यसलगत्तै प्रधानमन्त्री शाहले दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर बत्ति बालेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि भने होटल फर्किएर भारतीय अर्थमन्त्री निर्मला सितारणसँग भेटवार्ता हुने छ।
अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शाहका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने गरी कार्यक्रम बनाइएको छ। मंसिर ७ गते प्रधानमन्त्री मोदीले शाहको लागि विहानको खाना हैदरावाद हाउसमै गर्ने तय गरिएको छ।
दिल्लीस्थित स्रोतहरूका अनुसार मोदीसँग पहिले प्रधानमन्त्री शाहले आधा घण्टा एक्लाएक्लै भेट्ने तय भएको छ। कुटनीतिक अधिकारीहरूका अनुसार एक्लाएक्लै भनेपनि यो भेट ‘वान प्लस फोर’ अर्थात दुई देशका प्रधानमन्त्री र उनका चार चार जना सहयोगी सहितको भेटवार्ता हो।
त्यसपछि भने ‘वान प्लस फोर्टिन’ अर्थात दुवै देशका प्रधानमन्त्री र अन्य १४ जना सदस्य रहेको प्रतिनिधि मण्डलबीच दुई पक्षीय औपचारिक भेटवार्ता हुने गरी कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्। दिल्लीमा हुने सबैभन्दा महत्वपूर्ण भेटवार्ता यही हो, जसमा दुई देशबिच धेरै एजेण्डामा छलफल तथा सम्झौताहरू हुन सक्ने छ। मोदीसँगको यी सबै भेटवार्ता हैदरावाद हाउसमा हुने तय भएको छ।
प्रधानमन्त्री तहको दुई पक्षीय बैठकपछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको परराष्ट्रका अधिकारीहरु बताउँछन्। जसमा पत्रकारहरूसँग प्रश्न उत्तरको सेसन भने राखिएको छैन।
७ गते अन्तमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको राजकीय भ्रमणको अन्तमा भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेसलाई व्रिफिङ गर्ने कार्यक्रम तय भएको छ।
नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहने १५ जना अधिकारीको भ्रमण र बसोबास तथा खानपानको व्यवस्था भारत सरकारले र बाँकी सदस्यको लागि नेपाल सरकारले खर्च बेहोर्ने गरी कार्यक्रम बनेको परराष्ट्रका अधिकारीहरू बताउँछन्।
भारतको २ दिने भ्रमण सकेर मंसिर ७ गते दिउँसो ४ः५० बजेको नेपाल वायुसेवा निगमको उडानबाट प्रधानमन्त्री शाह नेपाल फर्कने कार्यक्रम बनेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तार तथा अन्य विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दुवै प्रधानमन्त्रीले नेपालमा भारतीय सहयोगमा बनेका केही आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरु बताउँछन्