रौतहट । दक्षिण तथा पश्चिम-मध्य बंगालको खाडीमा ‘अक्वान’ नामको चक्रवात विकास भएको छ।
भारतको मौसम विज्ञान विभागका अनुसार यो चक्रवात नोभेम्बर १७ अर्थात् आज साँझसम्म तीव्र आँधीमा परिणत हुने सम्भावना छ।
विभागले अगाडि भनेको छ, यो नोभेम्बर १९ को बिहानसम्ममा अत्यन्तै गम्भीर चक्रवाती आँधीमा परिणत हुन सक्छ।
अनि यो चक्रवात नोभेम्बर २० को दिउँसो आन्ध्र प्रदेशको तटमा रहेको नेल्लोर र टुनी र यानमको बिचमा जमिनमा प्रवेश गर्ने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ।
विभागले भनेको छ, यस अवधिमा हावाको गति १२०-१३० किलोमिटर प्रतिघण्टा हुने सम्भावना छ र आँधीको वेग १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ।
यो चक्रवातको नाम इरानले राखेको हो। 'अक्वान' नाम फारसी पौराणिक कथामा छ। यो फेरदौसीद्वारा लिखित प्रसिद्ध फारसी महाकाव्य 'शाहनामा'मा रहेको राक्षसजस्तो पात्र 'अक्वान-इ-दिउ'सँग सम्बन्धित छ।
यो चक्रवातको प्रभावले नोभेम्बर २२ सम्म भारतका धेरै भागमा वर्षा हुने अनुमान त्यहाँको मौसम विभागले गरेको छ।
नेपालमा प्रभाव पर्छ कि पर्दैन?
अहिलेसम्मको अध्ययनमा ‘अक्वान’ चक्रवातको असर नेपालमा नपर्ने देखिएको नेपाल मौसम विज्ञान विभागका मौसमविद्ले बताएका छन्।
नेपालखबरको जिज्ञासामा विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् माधवी सिग्देलले भनिन्, ‘अहिलेसम्मको अध्ययन/विश्लेषणले त्यस चक्रवातको असर नेपाल पर्ने सम्भावना देखिएको छैन।’
सबै चक्रवातको प्रभाव नेपालमा नपर्ने उल्लेख गर्दै उनले अहिले बनेको 'अक्वान'ले आगामी दिनमा पनि कुनै असर नगर्ने देखिएको बताइन्।
यस्तो छ नेपाल मौसम विभागले आज बिहान ८ बजे जारी गरेको पाँचदिने मौसम प्रक्षेपण-
२०८३ मंसिर १ गते (मंगलबार)
दिउँसो : कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर २ गते (बुधबार)
दिउँसो : कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : कोसी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ३ गते (बिहीबार)
दिउँसो : कोसी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति : कोसी र मधेस प्रदेशको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ४ गते (शुक्रबार)
कोसी, मधेस र बागमती प्रदेशलगायत र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ५ गते (शनिबार)
कोसी, मधेस र बागमती प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ