रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब ४ बजे झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुजरा नगरपालिका–७ निवासी २५ वर्षीय सुनिल हजरा दुसाधलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । चिकित्सकले दिउँसो ४ः३० बजे उनलाई मृत घोषणा गरेका थिए । त्यस्तै, भारतको सीतामढी जिल्ला भकुरहर निवासी १८ वर्षीय अनिकेत पसवानको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पसवानको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ । यस्तै, भारतको सीतामढी जिल्ला भकुरहर निवासी १६ वर्षीय प्रिन्स पसवानलाई थप उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज पठाइएको छ । उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी बडहर्वाबाट प्रहरी सहायक निरीक्षक सियाराम साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा परेको स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।