रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ ले किसानलाई ५० प्रतिशत अनुदानमा मकै रोप्ने मेसिन वितरण गर्ने भएको छ ।
वडाबाट विनियोजित बजेटमार्फत किसानलाई कृषि कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले मेसिन वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक वडाभित्रका किसान, कृषक समूह तथा संघसंस्थालाई आवश्यक कागजातसहित आगामी मंसिर ८ गतेभित्र वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
वडा कार्यालयका अनुसार प्रत्येक टोलमा कम्तीमा पाँचवटा मेसिन रहने गरी वितरणको व्यवस्था मिलाइनेछ । ठूला खेती गर्ने किसानलाई वितरणमा पहिलो प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
मेसिन प्राप्त गर्न इच्छुक किसानले नागरिकताको प्रतिलिपि र निवेदन पेस गर्नुपर्नेछ । त्यस्तै, संघसंस्था तथा कृषक समूहले दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।
वडा अध्यक्ष नवराज देवकोटाद्वारा जारी सूचनामार्फत इच्छुक किसान तथा कृषक समूहलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरिएको छ ।