रौतहट, ३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा भएको टाटासुमो दुर्घटनामा चन्द्रपुर नगरपालिकाका तीन जना नागरिकको मृत्यु भएपछि नगरपालिकाले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । उनलेे शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।
बिहीबार बिहान चन्द्रपुरबाट काठमाडौँतर्फ जाँदै गरेको टाटासुमो मकवानपुरको भैँसेमा दुर्घटना हुँदा चन्द्रपुर नगरपालिका–३ र ४ का तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–३ गैंडाटारका ५० वर्षीय बमबहादुर वाइबा तथा वडा नम्बर ४ का २५ वर्षीया अनुसा लामा र जेशिका भन्ने अस्मिता तिमल्सिना रहेका छन् ।
बमबहादुर वाइबा आफन्तको किरियामा सहभागी हुन परिवारका सदस्यसँगै सिन्धुपाल्चोक जाँदै थियो । खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएका उनको दुर्घटनामा मृत्यु भएपछि परिवार र गाउँ शोकमा डुबेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो भीमफेदी गाउँपालिका–१ भैँसेमा अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल खोलामा खसेको थियो ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जना बमबहादुरका परिवारका सदस्य तथा आफन्त हुन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।