सर्लाही, ४ मंसिर।
सर्लाहीमा वैदेशिक रोजगारीसँग जोडिएको आर्थिक लेनदेनको विवादमा एक युवकको अपहरण गरी बन्धक बनाइएको घटना सार्वजनिक भएको छ। प्रहरीले अपहरणमा परेका गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनिल कुमार रायलाई करिब ११ घण्टापछि सकुशल उद्धार गरेको छ।
गत कात्तिक २७ गते राति करिब १० बजे कौडेना गाउँपालिका–२ स्थित फुलपरासीमा दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले रायलाई घेराउ गरी कुटपिट गरेका थिए। त्यसपछि उनलाई जबर्जस्ती पिकअप गाडीमा राखेर अज्ञात स्थानतर्फ लगेका थिए।
घटनाबारे जानकारी पाएपछि पीडितका आफन्तले तत्काल इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएका थिए। प्रहरीले सूचना प्राप्त हुनासाथ अपहृतको खोजी तथा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान टोली परिचालन गरेको थियो।
प्रहरीको निरन्तर खोजतलास र सूचनाका आधारमा भोलिपल्ट बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ स्थित राजकुमार महतोको घरमा पुगेर रायलाई एउटा कोठाभित्र बन्धक अवस्थामा फेला पारेको थियो। अपहरणमा परेको करिब ११ घण्टापछि प्रहरीले उनलाई सकुशल उद्धार गर्न सफल भएको हो।
प्रहरीले बन्धक बनाइएको स्थानबाटै अपहरणमा संलग्न रहेको आरोपमा बरहथवा नगरपालिका–५ का ३१ वर्षीय सन्तोष कुमार महतोलाई पक्राउ गरेको थियो। उनीसँगको प्रारम्भिक सोधपुछका आधारमा थप अनुसन्धान अघि बढाउँदा सोही दिन बरहथवा नगरपालिका–७ स्थित दुध डेरी चोकबाट अन्य तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ५४ वर्षीय विश्वेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो र २५ वर्षीय अमित कुमार महतो रहेका छन्।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट यो अपहरण कुनै योजनाबद्ध फिरौती गिरोहको नभई वैदेशिक रोजगारीसँग सम्बन्धित आर्थिक लेनदेनको विवादका कारण भएको खुलेको छ। विवादित रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले रायलाई अपहरण गरी बन्धक बनाइएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
यस घटनामा अपहरणपछि फिरौती रकम बुझाउन जाँदा तीन लाख रुपैयाँ र सुनका गरगहना लुटिएको भन्ने अर्को सूचना पनि फैलाइएको थियो। तर उक्त सूचना भ्रामक रहेको प्रहरीको भनाइ छ। अनुसन्धानलाई प्रभावित पार्ने तथा घटनालाई अतिरञ्जित बनाउने उद्देश्यले झुटो प्रचार गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–१२ का ४२ वर्षीय रामनारायण यादव र ४० वर्षीया निलव देवी रहेका छन्। उनीहरूमाथि समेत प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार अपहरणमा संलग्न चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
घटनामा झुटो सूचना फैलाउने आरोपमा पक्राउ परेका अन्य दुई जनामाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।