रौतहट– मन्त्रिपरिषद्ले प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ।
शुक्रबार बसेको बैठकले भ्रमणका लागि प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
त्यस्तै मन्त्री तिमिल्सिनाले सार्वजनिक गरेका निर्णयअनुसार सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको लगत तयार गर्ने भएको छ। त्यसका लागि देशभर त्यस्ता जग्गाको नापजाँच गर्न मन्त्रिपरिषद्ले आदेश जारी गर्ने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू:
–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।
–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने