गाउँका खेलाडीलाई अवसर, प्रतिभालाई पहिचान र खेलकुदलाई प्राथमिकता दिने प्रतिबद्धतासहित मौलापुरमा क्रिकेट प्रतियोगिता
मौलापुर। चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता व्यवहारमा कति उतारिन्छन् भन्ने प्रश्न राजनीतिक वृत्तमा सधैँ उठ्ने गर्छ। तर मौलापुरमा रामकल्याण यादवले छठ र दीपावलीको अवसरमा सार्वजनिक गरेको २३ बुँदे घोषणापत्रको २२औँ बुँदामा समेटिएको खेलकुद विकासको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रयास गरेका छन्। सोही प्रतिबद्धताको निरन्तरतास्वरूप उनले आफ्नै निजी लगानीमा ‘मेयर प्रत्याशी कप’ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेका छन्।
स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाको पहिचान गर्ने र उनीहरूलाई प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले मौलापुर क्षेत्रमा क्रिकेटको माहोल सिर्जना गरेको छ। नगरपालिकाको नौं वटै वडाका टोली सहभागी प्रतियोगितामा युवाको उत्साहसँगै खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्।
स्थानीय तहमा मेयर कपलगायतका खेलकुद प्रतियोगिता प्रायः सरकारी बजेटबाट आयोजना हुने गरेका छन्। तर यादवले भने सार्वजनिक पद वा सरकारी बजेटको प्रतीक्षा नगरी व्यक्तिगत लगानीमा प्रतियोगितालाई निरन्तरता दिएका छन्। घोषणापत्रमा लेखिएको खेलकुदसम्बन्धी प्रतिबद्धतालाई मैदानसम्म पुर्याउने उनको प्रयासलाई यसै सन्दर्भमा हेरिएको छ।
प्रतियोगिताको उद्घाटन खेल शुक्रबार यादवकै गृह वडा मौलापुर–४ पतौरा र चिरचिरियाबीच भएको थियो। पहिले ब्याटिङ गरेको पतौराले १२ ओभरमा नौ विकेट गुमाउँदै ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा चिरचिरियाले नौ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो। चार ओभरमा १५ रन खर्चेर चार विकेट लिएका विक्रम पटेल म्यान अफ द म्याच घोषित भए। उनलाई बिरबल यादवले पदक प्रदान गरेका थिए। प्रतियोगिताको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सह–इन्चार्ज रामकुमार भट्टराईले गरेका थिए।
प्रतियोगिताको दोस्रो दिन शनिबार भएका छुट्टाछुट्टै दुईवटा खेल,दुवै खेल प्रतिस्पर्धात्मक बने। पहिलो खेलमा मौलापुर–५ ले वडा नं ८ का सोनरनिया लाई पराजित गर्यो। सोनरनिया ले प्रस्तुत गरेको ६० रनको लक्ष्य मौलापुर–५ ले पाँच विकेट गुमाएर मात्र ६ ओभरमै पूरा गरेको थियो। मौलापुर–५ का कप्तान सन्दीप पटेल म्यान अफ द म्याच घोषित भए। उनलाई विजय यादवले पदक प्रदान गरे।
दोस्रो खेलमा सोनरनिया–९ ले मर्यादपुरलाई पराजित गर्यो। पहिले ब्याटिङ गरेको सोनरनिया–९ ले ६ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। जवाफमा मर्यादपुरको टोली ४९ रनमै अलआउट भयो। सोनरनिया–९ का कप्तान आफताब आलमले ब्याटिङमा लगातार तीन छक्का प्रहार गर्नुका साथै बलिङमा लगातार तीन विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका उनलाई म्यान अफ द म्याचको पदकसँगै दुई वटा रेडबुल प्रदान गरियो। उनलाई रामसोगरथ राय यादवले सम्मान गरेका थिए।
यादवका लागि प्रतियोगिता आयोजना गर्नुको उद्देश्य केवल एउटा टोलीलाई विजेता बनाउनुमा सीमित छैन। गाउँमा अवसरको अभावमा आफ्नो प्रतिभा देखाउन नपाएका युवालाई खेलमैदान उपलब्ध गराउनु र उनीहरूलाई भविष्यमा अझ ठूलो प्रतियोगितासम्म पुग्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
यसअघि पहिलो संस्करणमा पनि प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिएको थियो। एनपीएलमा जनकपुर बोल्ट्सबाट खेलेर चर्चा कमाएका राहुल यादवलाई समेत रामकल्याण यादवले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरेका थिए। स्थानीयस्तरमा अवसर पाएर राष्ट्रियस्तरको क्रिकेटसम्म पुग्न सकिने सम्भावनालाई यसले थप उजागर गरेको आयोजकको बुझाइ छ।
दोस्रो संस्करणमा विजेता टोलीलाई १० हजार रुपैयाँ नगदसहित खेल सामग्री र उपविजेतालाई पाँच हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। नगद पुरस्कारसँगै खेल सामग्री प्रदान गर्ने व्यवस्थाले प्रतियोगितालाई स्थानीय खेलाडीका लागि थप आकर्षक बनाएको छ।
राजनीतिमा घोषणापत्र सार्वजनिक गर्नु एउटा पक्ष हो भने त्यसमा उल्लेख गरिएका विषयलाई व्यवहारमा उतार्नु अर्को पक्ष। यादवले छठ र दीपावली लक्षित २३ बुँदे घोषणापत्रको २२औँ बुँदामा खेलकुदलाई प्राथमिकता दिने उल्लेख गरेका थिए। अहिले आफ्नै लगानीमा दोस्रो संस्करण आयोजना गरेर उनले त्यसलाई निरन्तरता दिने प्रयास गरेका छन्।
मौलापुरमा जारी मेयर प्रत्याशी कपको मैदानमा अहिले खेलाडीहरू जितका लागि प्रतिस्पर्धा गरिरहेका छन्। तर प्रतियोगिताको अर्को महत्त्वपूर्ण पक्ष गाउँमा लुकेका प्रतिभालाई पहिचान गर्ने प्रयास हो। घोषणापत्रको एउटा बुँदालाई खेलमैदानसम्म पुर्याउने यादवको यो पहलले स्थानीय खेलकुदमा निजी लगानी र सामाजिक उत्तरदायित्वको बहसलाई समेत अगाडि ल्याएको छ।