रौतहट, १४ बैशाक / जन जागरण युवा क्लब, बाराको आयोजनामा बालअधिकारसम्बन्धी ऐन, नीति तथा रणनीति कार्यान्वयन सम्बन्धि स्थानिय सरकारसँग कार्यशाला गोष्ठी सोमबार रौतहटको चन्द्रपुर नगरपालिका स्थित होटल तराई इनमा सुरु भएको छ। बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त गोष्ठीमा बारा, रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुख तथा बाल संरक्षण अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
जस्ट राइट फर चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय बालअधिकार परिषद्को समन्वयनमा जारी सो गोष्ठीमा कार्यक्रममा बालअधिकारसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नीति तथा कार्यान्वयनका चुनौती र समाधानका उपायबारे विस्तृत छलफल भइरहेको छ । गोष्ठीमा जस्ट राइट फर चिल्ड्रेनका प्राविधिक सल्लाहकार गोविन्द खनाल, जनजागरण युवा क्लबका कार्यक्रम प्रबन्धक कौशल किशोर साह तथा नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश संयोजक सञ्जीव महत्तोले आ–आफ्नो प्रस्तुति दिनुभएको थियो ।
प्रस्तुतकर्ताहरूले बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको सक्रियता, समुदायस्तरमा सचेतना अभिवृद्धि तथा समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ । बालअधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउँदै सल्लाहकार खनालले स्थानीय तहले बालबालिकाको अधिकारको रक्षाको लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रबन्धक साहले स्थानीय तहबीच सहकार्य र अनुभव आदानप्रदानले बाल संरक्षणमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भन्दै यसका लागि सरोकारवाल सबैको हातेमालो र सहकार्य हुनुपर्ने उल्लेख गर्नुभयो ।
संयोजक महत्तोले बालविवाह न्यूनीकरणका लागि नीति र व्यवहार दुबै तहमा सुधारको आवश्यकतामा जोड दिदैं यसका लागि नेपाल सरकार सबैसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
आयोजक संस्थाका कोषाध्यक्ष सियाराम यादवका अनुसार यस कार्यशालाले स्थानीय तहलाई बालअधिकार संरक्षणका लागि आवश्यक नीति तथा रणनीति निर्माण र कार्यान्वयनमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ । ‘स्थानीय सरकारहरूलाई व्यवहारिक रूपमा काम गर्न सहयोग पुग्ने गरी छलफल र अनुभव आदानप्रदान भइरहेको छ,’ , उहाँले भन्नुभयो, ‘यसका लागि हामी यस गोष्ठीबाट समस्याको पहिचान गर्दै समाधान खोजेर निति निमार्णको चरणमा पुग्नेछौं । ’
गोष्ठीमा सहभागीहरूले आफ्नो–आफ्नो क्षेत्रका अनुभव, चुनौती र सफल अभ्यासहरू पनि साझा गर्नुभएको थियो । यसले विभिन्न पालिकाबीच समन्वय र सहकार्य बढाउन मद्दत गर्ने विश्वास संस्थाका परियोजना अधिकृत मिना गुप्ताको रहेको छ ।
कार्यक्रम मंलबारसम्म सञ्चालन हुने र गोष्ठीबाट प्राप्त निष्कर्ष तथा सुझावहरूलाई आगामी दिनमा स्थानीय तहहरूले नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्ने अपेक्षा गरिएको संस्थाका लेखा अधिकृत पवन कुमार सहनीले बताउनुभयो ।