काठमाडौं ,१५ बैशाख//
सरकारले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दुई अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो। अध्यादेशहरू आजै शीतलनिवास पुर्याइएको जनाइएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल ले अध्यादेशहरू अध्ययनको क्रममा रहेको जानकारी दिएका छन्।
यसअघि वैशाख ८ गते मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए। तर, पछि सरकारले वैशाख १० गते पुनः अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि अधिवेशन स्थगित गरिएको थियो।
प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गरिएसँगै सरकारले संवैधानिक परिषद्मार्फत नियुक्ति प्रक्रिया अघि बढाउन अध्यादेश ल्याउन खोजेको देखिन्छ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र विपक्षी दलका नेता गरी ६ सदस्य रहने व्यवस्था छ। हालै नेपाली कांग्रेस ले प्रतिनिधिसभामा दलको नेता चयन गरेसँगै परिषद्ले पूर्णता पाएको छ। कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बे लाई चयन गरेको छ।