वीरगञ्ज,१५ बैशाख//
चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन आयात १०२ प्रतिशतले वृद्धि भएको हो, जुन करिब एक अर्ब ५० करोड रुपैयाँले बढी हो। गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालय का सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार चालु आवमा विद्युतीय सवारी आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।
तथ्यांकअनुसार, चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। गत आवको सोही अवधिमा भने ४८ करोड रुपैयाँका १७२ वटा मात्रै आयात भएका थिए।
यस्तै, चालु आवमा ९६ करोड रुपैयाँ बराबरका सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्, जुन गत आवको सोही अवधिको ५५ करोड रुपैयाँका चार हजार २२७ वटा भन्दा उल्लेखनीय रूपमा बढी हो।
त्यसैगरी, चालु आवको नौ महिनामा ५३ करोड रुपैयाँ बराबरका चार हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएका छन्। गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँका तीन हजार ६१३ वटा आयात भएका थिए।