वीरगञ्ज,१५ बैशाख//
वीरगञ्जको मुख्य सडक त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि केन्द्रविन्दु निर्धारण प्रक्रिया सुरु गरिएको छ।
महानगर प्रमुख राजेशमान सिंह को अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले आधिकारिक नक्साअनुसार सडकको केन्द्र पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो।
बैठकमा जिल्ला प्रशासन कार्यालय पर्सा, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्सा का प्रतिनिधिहरू सहभागी थिए।
यसअघि विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्र स्पष्ट नभएकाले स्थानीयमा अन्योल थियो। अब केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ बराबर दूरी कायम गरी मापदण्डअनुसार सडक चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ।
नापजाँचका लागि प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडा ले उपलब्ध गराएको छ भने मापन कार्य नापी कार्यालय पर्सा ले गरिरहेको छ।
सडक डिभिजनका इन्जिनियर भोला प्रसाद साह का अनुसार आज बिहानदेखि नै नापजाँच सुरु भएको हो।
यसका लागि सम्बन्धित निकायहरूको संयुक्त कार्यदल गठन गरिएको छ, जसले नापजाँचदेखि कार्यान्वयनसम्म समन्वय गर्नेछ। यसअघि गण्डकदेखि भन्सार क्षेत्रसम्मका घर–टहरा हटाइएपछि अब सडक विस्तार कार्यले थप गति लिने अपेक्षा गरिएको छ।