बैशाख ३१, रौतहट
रौतहटको गरुडा नगरपालिका वडा नं. ४ गरुडा बजारबाट एक बालिका रहस्यमय रूपमा बेपत्ता भएकी छन् । गत वैशाख २७ गते आइतबार दिउँसोदेखि सम्पर्कविहीन भएकी बालिकाको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको परिवारले जनाएको छ ।
बेपत्ता हुनेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं. ८ निवासी किसुनदेव दासकी छोरी १० वर्षीया सानीकुमारी दास रहेकी छन् । उनी हाल परिवारसँगै रौतहटको गरुडा नगरपालिका–४ स्थित गरुडा बजारमा डेरा गरी बस्दै आएकी थिइन् ।
परिवारका अनुसार सानीकुमारी आइतबार दिउँसो करिब १ः४० बजे “मामा घर जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् । तर, उनी गन्तव्यसम्म नपुगी बीच बाटोबाटै हराएकी हुन् । बालिका अन्तिम पटक गरुडा–४ स्थित द रिडर्स इङ्लिस बोर्डिङ स्कुल अगाडि देखिएकी बताइएको छ । त्यसयता उनको कुनै सम्पर्क हुन सकेको छैन ।
बालिकाको खोजीका लागि परिवारले आफन्त, नातागोता, छरछिमेक तथा सम्भावित स्थानहरूमा व्यापक खोजतलास गरे पनि कुनै जानकारी प्राप्त नभएको जनाइएको छ । चार दिन बितिसक्दा पनि छोरीको अवस्था अज्ञात रहेपछि परिवार चिन्ता र पीडामा डुबेको छ ।
बालिकाका बुवा किशुनदेव दासका अनुसार सानीकुमारीको वर्ण कालो छ भने उचाइ करिब साढे तीन फिट रहेको छ । बेपत्ता हुँदा उनले निलो हाफ बाहुलाको टिसर्ट र गुलाबी रंगको सुरुवाल लगाएकी थिइन् ।
छोरी हराएपछि बुवा किशुनदेव दास र आमा प्रमिला देवी दासले भावुक हुँदै सर्वसाधारणसँग खोजीमा सहयोग गरिदिन अपिल गरेका छन् । “यदि कसैले छोरीलाई कतै देख्नुभएको छ वा कुनै जानकारी प्राप्त भएको छ भने तुरुन्त सम्पर्क गरिदिनुहोस्,” उनीहरूले आग्रह गरेका छन् ।
बालिकासम्बन्धी कुनै जानकारी प्राप्त भएमा बुवा किशुनदेव दासको मोबाइल नम्बर ९८२७६१७०२०, आमा प्रमिला देवी दासको नम्बर ९७००२६८४४८ वा नजिकैको प्रहरी कार्यालयको ९८५५०४२३९९ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।