हाईवे न्युज सम्वाददाता
जेठ ०१, रौतहट
मुन लाईट एकाडेमी सकेण्डरी स्कुलले विगत २३ वर्षदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आफ्नो गौरवपूर्ण इतिहासलाई यस वर्ष पनि कायम राख्न सफल भएको छ। रौतहट जिल्लाको उत्तरी भेग अन्तर्गत चन्द्रपुर नगरपालिका–५, चन्द्रनिगाहपुरमा अवस्थित उक्त विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये आफ्नो पहिचान पुनः स्थापित गरेको हो।

विद्यालयका अनुसार आदित्य जैसवाल, सम्राट गौतम र रसना आचार्यले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव अझ उचो बनाएका छन्। लगातार २३ वर्षसम्म उत्कृष्ट नतिजा ल्याउने परम्परालाई कायम राख्न सफल भएको भन्दै विद्यालय परिवारले यस उपलब्धिलाई ऐतिहासिक सफलता रूपमा लिएको छ।

यस्तै ३.९१ देखि ३.९६ जिपिए ल्याउने बिधार्थीको संख्या १३ जनाले , ३.८२ देखि ३.८७ जिपिए ल्याउने १८ जनाले र ३.१२ देखि ३.७४ जिपिए ल्याउने बिधार्थी ३८ जना सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थियो । एसईई दिएका विद्यार्थी संख्याको हिसाबले मुन लाईट एकाडेमी सकेन्डरी स्कुलले प्राप्त गरेको उपलब्धी निकै ठूलो र ऐतिहासिक भएको विद्यालयले जनाएको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक समिति लगायतको सहभागितामा आयोजित कार्यक्रममा प्रधानाध्यापक श्याम किशोर चौधरी लगायतले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक श्याम किशोर चौधरीले विद्यालयले गुणस्तरीय शिक्षालाई मुख्य प्राथमिकतामा राख्दै अनुशासित वातावरण, अनुभवी तथा समर्पित शिक्षक टोली र आधुनिक शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई सक्षम बनाउँदै आएको बताउनु भयो। उहाँका अनुसार नियमित मूल्याङ्कन, व्यक्तिगत परामर्श तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिले विद्यालयको नतिजालाई निरन्तर उत्कृष्ट बनाउन सहयोग पुगेको हो।

विद्यालयका कोअर्डिनेटर हरि कोइरालाले विद्यालयले विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षा नभई समग्र व्यक्तित्व विकासमा केन्द्रित शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नु भयो। “हामी विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिन चाहन्छौँ। शिक्षक, अभिभावक र विद्यार्थीबीचको विश्वास र सहकार्यकै परिणाम आजको सफलता हो,” उहाँले भन्नुभयो।

विद्यालय प्रशासनले सफल विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षण सिकाइ प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। विद्यालयका अनुसार यस प्रकारका उपलब्धिले आगामी पुस्तालाई अझ प्रेरित गर्ने विश्वास लिइएको छ।
.jpg)
मुन लाइट एकाडेमी विगतदेखि नै आधुनिक र प्रविधिमैत्री शिक्षाका लागि परिचित रहँदै आएको छ। स्मार्ट कक्षा सञ्चालन, नियमित मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको विद्यालयले विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष बिनोद कुमार घिमिरेले गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइका रूपमा मुन लाइट एकाडेमी स्थापित भएको बताउनु भयो। “हामीले शिक्षालाई व्यवसाय मात्र नभई सेवा र जिम्मेवारीका रूपमा लिएका छौँ। यही सोचका कारण विद्यालयले निरन्तर सफलता हासिल गर्न सकेको हो,” उहाँले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनु भयो।

विद्यालयका डाइरेक्टर दिपक घिमिरेका अनुसार मुन लाइट एकाडेमीले विगतमा पनि थुप्रै उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ। विद्यालयले वि.सं. २०६४, २०६७, २०६८ र २०६९ सालको एसएलसी परीक्षामा रौतहट जिल्लामै प्रथम स्थान हासिल गरेको थियो। त्यसैगरी वि.सं. २०७३ मा नेपाल सरकारद्वारा मधेश प्रदेशकै उत्कृष्ट संस्थागत विद्यालयको रूपमा सम्मानित भएको विद्यालयले जनाएको छ।

विद्यालयले वि.सं. २०६९र०७० देखि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय सञ्चालन गर्दै सतप्रतिशत नतिजा कायम राख्न सफल हुँदै आएको छ। सुरुमा ५१ जना विद्यार्थीबाट सुरु गरिएको उक्त कार्यक्रम अहिले शैक्षिक सत्र २०८२र८३ सम्म आइपुग्दा ४०० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने अवस्थामा पुगेको विद्यालय प्रशासनले जनाएको छ।

शिक्षामा मात्र नभई खेलकुद तथा साहित्यिक क्षेत्रमा पनि विद्यालयले उत्कृष्ट पहिचान बनाएको छ। कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०७३, २०७४ र २०७५ मा लगातार रौतहट जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ। साथै कथा, कविता, निबन्ध, वक्तृत्वकला, नाटक तथा चित्रकलाजस्ता सिर्जनात्मक प्रतियोगिताहरूमा समेत विद्यालयका विद्यार्थीहरूले जिल्लागत तथा क्षेत्रीय स्तरमा विभिन्न उपाधि हासिल गर्दै आएका छन्।

विद्यालयको भौतिक संरचना पनि अन्य विद्यालयभन्दा फरक रहेको डाइरेक्टर घिमिरेले बताउनु भयो। भूकम्पप्रतिरोधी भवन, स्वच्छ तथा शान्त वातावरण, बालमैत्री शिक्षण प्रणाली र सुरक्षित शैक्षिक वातावरणका कारण विद्यालय अभिभावक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको उहाँको भनाइ छ।

विद्यालयले औपचारिक शिक्षासँगै जीवनोपयोगी सीप, नैतिक शिक्षा तथा सामाजिक उत्तरदायित्व विकासमा विशेष ध्यान दिँदै आएको छ। योग, संगीत, नृत्य, चित्रकला, काष्ठकला, खेलकुद, वृक्षारोपण तथा शैक्षिक भ्रमणजस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई नियमित रूपमा सहभागी गराइँदै आएको विद्यालयले जनाएको छ।

डाइरेक्टर घिमिरेका अनुसार अहिलेको शिक्षालाई केवल उच्च अंक प्राप्त गर्ने माध्यमका रूपमा मात्र बुझिनु गलत धारणा हो। “हाम्रो विद्यालयले किताबको ज्ञानसँगै सामाजिक, व्यवहारिक र जीवनमुखी शिक्षामा पनि जोड दिएको छ। असल नागरिक निर्माण गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो,” उहाँले बताउनु भयो।

२१औँ शताब्दीको आवश्यकता अनुरूप स्थापना गरिएको अंग्रेजी माध्यमको यस विद्यालयले व्यवहारिक, प्रयोगात्मक तथा समाजमुखी शिक्षालाई प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यालयले भविष्यमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र व्यवहारिक ज्ञानमार्फत दक्ष, जिम्मेवार र नैतिकवान् नागरिक उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।






