जेठ ०२, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका–६, पोठियाही निवासी आदित्य जैसवालले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट ४ जिपिए ल्याएर आफ्नो गाउँ, परिवार तथा विद्यालयको गौरव उच्च बनाएका छन् । सानैदेखि अध्ययनप्रति गहिरो रुचि राख्ने आदित्यले निरन्तर मेहनत, अनुशासन र लगनशीलताको बलमा यो सफलता हासिल गरेका हुन् ।
वि.सं. २०६७ पुस २९ गते बुवा अरबिन्द कुमार जैसवाल र आमा बबिता जैसवालको कोखबाट जन्मिएका आदित्यले सानै उमेरदेखि पढाइमा अब्बल प्रतिभा देखाउँदै आएका थिए । उनी अध्ययनमा मात्र नभई व्यवहार, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा समेत सक्रिय विद्यार्थीको रूपमा परिचित छन् ।

आदित्यले आफ्नो प्रारम्भिक शिक्षा गरुडा नगरपालिका–५ शिवनगर स्थित श्री मनकामना इङ्लिस बोर्डिङ स्कुलबाट सुरु गरेका थिए । नर्सरीदेखि कक्षा १ सम्म अध्ययन गर्दा उनले हरेक वर्ष प्रथम श्रेणी हासिल गर्दै विद्यालयमा उत्कृष्ट विद्यार्थीको पहिचान बनाउन सफल भएका थिए । त्यसपछि उनले चन्द्रपुर नगरपालिका–५, चन्द्रनिगाहपुर स्थित मुनलाइट एकाडेमी सेकेन्डरी स्कुलमा भर्ना भई कक्षा २ देखि १० सम्मको अध्ययन पूरा गरेका हुन् ।
विद्यालय स्रोतका अनुसार आदित्य मेहनती, जिज्ञासु तथा अनुशासित विद्यार्थीका रूपमा परिचित थिए । उनी नियमित अध्ययन गर्ने, शिक्षकले दिएका कार्य समयमै पूरा गर्ने तथा नयाँ विषय सिक्न सदैव उत्साहित रहने विद्यार्थीमध्ये एक थिए । यही लगनशीलताको परिणामस्वरूप उनले एसईईमा शतप्रतिशत सफलता हासिल गर्दै ४ जिपिए ल्याउन सफल भएको विद्यालय परिवारले जनाएको छ ।

अध्ययनसँगै खेलकुदमा समेत रुचि राख्ने आदित्यले भविष्यमा डाक्टर बन्ने सपना रहेको बताएका छन् । उनले समाजको सेवा गर्ने उद्देश्यसहित चिकित्सा क्षेत्रमा अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ।
यस अवसरमा आदित्यका बुवा अरबिन्द कुमार जैसवालले छोराको सफलताले आफू भावुक भएको प्रतिक्रिया दिएका छन् । उनले मध्यमवर्गीय परिवार भए पनि छोराको शिक्षामा कुनै कमी हुन नदिएको बताउँदै आगामी दिनमा पनि उच्च शिक्षाका लागि राम्रो कलेजमा भर्ना गराई थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “छोराले पहिले पनि राम्रो नतिजा ल्याउँदा हामी खुशी हुन्थ्यौं, तर एसईईमा ४ जिपिए ल्याएर परिवार मात्र होइन, सिंगो पोठियाही गाउँकै शिर उच्च बनाएको छ । यो उपलब्धिले गाउँबासीलाई समेत गर्व महसुस गराएको छ ।”
जैसवालले यस सफलताको श्रेय मुनलाइट एकाडेमी सेकेन्डरी स्कुलका सम्पूर्ण शिक्षक तथा विद्यालय परिवारलाई समेत दिएका छन् । “विद्यालयका शिक्षकहरूले गरेको मेहनत, मार्गदर्शन र सकारात्मक वातावरणकै कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको हो,” उनले बताए ।

उनले विद्यालयका सम्पूर्ण शिक्षकप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै मेहनतका साथ विद्यार्थीलाई शिक्षा प्रदान गरी अझ उत्कृष्ट नतिजा ल्याउन सफल होऊन् भन्ने शुभकामना दिएका छन् ।
आदित्यको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई ग्रामीण क्षेत्रका विद्यार्थीले पनि मेहनत र दृढ इच्छाशक्तिका बलमा उत्कृष्ट नतिजा हासिल गर्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण बनेको स्थानीयवासीहरूको भनाइ छ ।

यस्तै रौतहट जिल्लाको उत्तरी भेग अन्तर्गत चन्द्रपुर नगरपालिका–५, चन्द्रनिगाहपुरमा अवस्थित मुन लाईट एकाडेमी सकेण्डरी विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये आफ्नो पहिचान पुनः स्थापित गरेको हो।
मुन लाईट एकाडेमी सकेण्डरी स्कुलले विगत २३ वर्षदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आफ्नो गौरवपूर्ण इतिहासलाई यस वर्ष पनि कायम राख्न सफल भएको छ।
विद्यालयका अनुसार आदित्य जैसवाल, सम्राट गौतम र रसना आचार्यले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव अझ उचो बनाएका छन्। लगातार २३ वर्षसम्म उत्कृष्ट नतिजा ल्याउने परम्परालाई कायम राख्न सफल भएको भन्दै विद्यालय परिवारले यस उपलब्धिलाई ऐतिहासिक सफलता रूपमा लिएको छ।