जेठ ०४, रौतहट
सरकारले बढ्दो इन्धन मूल्य नियन्त्रण तथा आर्थिक भार कम गर्ने उद्देश्यले लागू गरेको आइतबार सार्वजनिक बिदाको निर्णय व्यवहारमा प्रभावकारी हुन नसकेको गुनासो सर्वसाधारणबाट व्यापक रूपमा उठ्न थालेको छ । सरकारी कार्यालयहरू आइतबार बन्द रहने तर निजी विद्यालय, उद्योग तथा अधिकांश निजी क्षेत्र नियमित रूपमा सञ्चालनमा रहँदा सरकारको निर्णय अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको स्थानीयहरूको भनाइ छ ।
सरकारले इन्धन खपत घटाउने लक्ष्यसहित हप्तामा दुई दिन सार्वजनिक बिदा दिने नीति लागू गरेको थियो । सोही नीतिअनुसार आइतबार सार्वजनिक बिदा घोषणा गरिएको भए पनि व्यवहारमा त्यसको प्रभाव न्यून देखिएको छ । सरकारी कार्यालयहरू बन्द हुँदा सेवा प्रवाह प्रभावित भएको, तर निजी क्षेत्र यथावत सञ्चालनमा रहेकाले इन्धन बचतको लक्ष्य समेत पूरा हुन नसकेको स्थानीयवासीहरूको आरोप छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाका स्थानीय भोला साहले सरकारको निर्णय व्यवहारिक नभएको बताउँदै सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेको गुनासो गरे । उनले भने,“सरकारले इन्धन बचत गर्ने उद्देश्यले आइतबार बिदा दिएको हो, तर कर्मचारीहरूले त्यस दिन पनि सरकारी गाडी निजी काममा प्रयोग गरिरहेका छन् । कार्यालय बन्द हुँदा मालपोत, नापी, नगरपालिका लगायतका कार्यालयबाट पाउने सेवा अवरुद्ध भएको छ । सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । त्यसैले आइतबार पनि सरकारी कार्यालय सञ्चालन गरिनुपर्छ ।”
स्थानीयहरूका अनुसार आइतबार बिदा हुँदा दैनिक प्रशासनिक कामकाज, जग्गा पास, नापजाँच, सिफारिस, सामाजिक सुरक्षा सम्बन्धी काम तथा अन्य अत्यावश्यक सेवाहरू प्रभावित भइरहेका छन् । विशेषगरी टाढादेखि सेवा लिन आउने नागरिकहरू कार्यालय बन्द हुँदा निराश भएर फर्किन बाध्य हुने गरेका छन् । कतिपय सेवाग्राहीले एउटै कामका लागि पटक–पटक कार्यालय धाउनुपरेको गुनासो गरेका छन् ।
यसै विषयमा हाईवे न्युजका संवाददाताले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ ढकालसँग प्रतिक्रिया लिँदा उनले स्थानीयवासीको मागलाई सकारात्मक रूपमा लिएको बताए । उनले भने,“चन्द्रपुर नगरवासीहरूले उठाएको विषय व्यवहारिक र सराहनीय छ । तर यो मेरो एकल निर्णयले मात्र सम्भव हुँदैन । कार्यपालिका बोर्ड बैठकबाट निर्णय भएपछि मात्र कार्यान्वयन गर्न सकिन्छ । हामी सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर आवश्यक पहल गरिरहेका छौं ।”
अधिकृत ढकालले आइतबार बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको भन्ने चर्चा विभिन्न ठाउँमा सुनिए पनि चन्द्रपुर नगरपालिकामा भने त्यस्तो गुनासो हालसम्म प्राप्त नभएको दाबी गरे । उनले भने,“बिदाको दिन सरकारी गाडी चलाउने विषयमा हामीले कडाइका साथ निगरानी बढाएका छौं । यदि कसैले सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएमा सम्बन्धित कर्मचारी वा व्यक्तिमाथि कानुनी कारबाही गरिनेछ ।”
उनले निजी विद्यालयहरू आइतबार पनि सञ्चालनमा रहँदा सरकारी विद्यालयका विद्यार्थी निजी विद्यालयतर्फ आकर्षित हुने अवस्था सिर्जना भएको समेत उल्लेख गरे । सरकारी विद्यालय बन्द हुने तर निजी विद्यालय खुला रहने अवस्थाले शिक्षा क्षेत्रमा समेत असन्तुलन देखिएको उनको भनाइ थियो ।
अधिकृत ढकालका अनुसार सोमबार बस्ने कार्यपालिका बोर्ड बैठकमा आइतबार पनि चन्द्रपुर नगरपालिकासहित मातहतका सरकारी कार्यालयहरू सञ्चालन गर्ने प्रस्ताव पेश गरिने तयारी गरिएको छ । सेवाग्राहीको चाप, जनगुनासो तथा व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिन सकिने संकेत उनले दिएका छन् ।
सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गर्दा करिब १० प्रतिशत इन्धन बचत हुने अनुमान गरिएको थियो । नेपाल आयल निगमका अनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल, ५० लाख लिटर डिजेल तथा ४५ हजार टन खाना पकाउने ग्यास खपत हुँदै आएको छ । निगमले आइतबार बिदा हुँदा पेट्रोल र डिजेलको कुल दैनिक खपतबाट करिब ७ लाख ५० हजार लिटर इन्धन बचत हुने प्रक्षेपण गरेको थियो ।
तर व्यवहारमा निजी क्षेत्र पूर्ण रूपमा सञ्चालनमा रहनु, सार्वजनिक यातायात नियमित चलिरहनु तथा सरकारी सवारी साधनको प्रयोग प्रभावकारी रूपमा नियन्त्रण गर्न नसक्नु जस्ता कारणले सरकारको उद्देश्यअनुसार इन्धन बचत हुन नसकेको जानकारहरूको भनाइ छ ।
स्थानीय बुद्धिजीवीहरूका अनुसार सरकारको नीति व्यवहारिक, प्रभावकारी तथा सबै क्षेत्रमा समान रूपमा लागू हुन नसकेसम्म यसको सकारात्मक परिणाम देखिन कठिन हुने बताएका छन् । उनीहरूले सेवा प्रवाहलाई प्राथमिकतामा राखेर संघीय सरकार तथा स्थानीय तहले जनतामैत्री र व्यवहारिक निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।