काठमाडौं,१२ जेष्ठ//
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको करिब आधा निर्माण कार्य सम्पन्न भएको छ ।
आयोजना प्रमुख तथा उपरथी धर्मेन्द्रकुमार झाका अनुसार हालसम्म आयोजनाको ४७.५६ प्रतिशत भौतिक र ४७.४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीसहित नेपाली सेनाको टोलीले सोमबार आयोजना क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । सो क्रममा आयोजना प्रमुख झाले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।
नेपाली सेनाका अनुसार ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग एशियन हाइवे मापदण्डअनुसार निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत ७ स्थानमा १०.९७९ किलोमिटर लामो सुरुङमार्ग तथा ८९ स्थानमा पुल निर्माण भइरहेको छ ।
हालसम्म ६.४ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ भने दुई स्थानमा ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेको छ ।
त्यस्तै ८९ मध्ये १६ वटा पुलको सुपरस्ट्रक्चर निर्माण सकिएको छ । सडकतर्फ ४७ किलोमिटरभन्दा बढी क्षेत्रमा निर्माण कार्य भइरहेको र ७ किलोमिटर सर्भिस लेन कालोपत्रे भइसकेको सेनाले जनाएको छ ।
आयोजनाको संशोधित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ ।
आयोजना सम्पन्न भएपछि काठमाडौंदेखि निजगढसम्मको यात्रा समय करिब १ घण्टा २ मिनेटमा सीमित हुने विश्वास गरिएको छ । सरकारले आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।