काठमाडौं ,१२ जेष्ठ//
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली सङ्घ (ईयू) र सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार बने पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक स्थायित्व र सुशासनप्रति सरकार प्रतिबद्ध रहेको बताए ।
उनले नेपालले विश्व बजारबाट लाभ लिन चाहेको उल्लेख गर्दै लगानी आकर्षित गर्न प्रक्रिया सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकास हासिल गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।