काठमाडौं ,१२ जेष्ठ//
प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
संघीय संसद् सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन समय दिएको थियो । सचिवालयका अनुसार २५४ सांसदले समयमै विवरण बुझाएका छन् भने ६ जनाले बुझाएका छैनन् ।
संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र नेपाल कम्युनिस्ट पार्टीका १ जना सांसद रहेका छन् ।
विवरण नबुझाउने सांसदहरूमा धनबहादुर बुढा, आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् ।
भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था छ ।