काठमाडौं,१८ जेष्ठ//
पूर्वगृहमन्त्री सुधन गुरुङ सँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने भएको छ।
समितिका सदस्य अच्युतमणि नेउपाने का अनुसार गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका कार्य पूरा भइसकेकाले प्रतिवेदन बुझाउन लागिएको हो।
वैशाख २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिलाई १५ दिनभित्र अध्ययन तथा छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
व्यापारी दीपक भट्ट सँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
भट्टले खरिद गरेको माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा गुरुङको लगानीबारे प्रश्न उठेपछि उनीमाथि दबाब बढेको थियो। रकमको स्रोतबारे उठेका प्रश्नमा गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।