काठमाडौं ,१८ जेष्ठ//
नेकपा एमाले ले प्रधानमन्त्री बालेन्द्र शाह को सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै एमालेले त्यसलाई राष्ट्रहितविपरीत रहेको जनाएको हो।
पार्टीका महासचिव शंकर पोखरेल ले जारी गरेको वक्तव्यमा उक्त अभिव्यक्तिले नेपालको स्थापित कूटनीतिक अडान, अन्तर्राष्ट्रिय दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै घोर निन्दा तथा भर्त्सना गरिएको छ।
सीमा विवाद समाधानका विषयमा ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोडिएकोमा पनि एमालेले असन्तुष्टि जनाएको छ। स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर तेस्रो पक्षको प्रसंग ल्याउनु कूटनीतिक अपरिपक्वता भएको एमालेको भनाइ छ।