बारा, असार १ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एकै साताभित्र सर्पदंशका कारण दुई बालिकाको मृत्यु भएपछि स्थानीय तहले नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालन गर्न केन्द्र सरकारसँग आकस्मिक पहल थालेको छ। गर्मीयामसँगै तराई क्षेत्रमा विषालु सर्पको गतिविधि बढिरहेका बेला उपचार सेवा अभावकै कारण बालबालिकाको ज्यान जान थालेपछि उपमहानगरपालिकाले सम्बन्धित निकायलाई तत्काल आवश्यक सहयोग र अनुमति उपलब्ध गराइदिन आग्रह गरेको हो।
उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रविकुमार भाष्करले काठमाडौंस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय८८ तथा टेकुस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)लाई छुट्टाछुट्टै पत्राचार गर्दै जीतपुरसिमरा नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक मार्गदर्शन, प्राविधिक सहयोग, जनशक्ति व्यवस्थापन, समन्वय तथा सहजीकरण गरिदिन अनुरोध गरेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका पर्सा राष्ट्रिय निकुञ्ज तथा घना वन क्षेत्रसँग जोडिएको भूभागमा पर्ने भएकाले यहाँ वर्षेनी गर्मी र वर्षायाममा सर्पदंशका घटना बढ्ने गरेका छन्। वन क्षेत्रसँग जोडिएका बस्ती, खेतबारी तथा ग्रामीण क्षेत्रमा विषालु सर्पको जोखिम उच्च रहे पनि नगर अस्पतालमा सर्पदंशको उपचार सेवा उपलब्ध नहुँदा बिरामीलाई उपचारका लागि अन्य जिल्लाका अस्पताल वा सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता रहेको छ। यसरी अस्पताल पुर्याउन लाग्ने समयकै कारण कतिपय बिरामीले उपचार नपाई ज्यान गुमाउने अवस्था सिर्जना हुँदै आएको स्थानीयको गुनासो छ। यसै सातामात्रै उपमहानगरपालिका–१४ निवासी पाँच वर्षीया दियान्सी रानामगर को सर्पदंशका कारण मृत्यु भएको थियो। त्यसको केही दिनअघि, असार ८ गते, उपमहानगरपालिका–१५ डाँडाटोल निवासी चार वर्षीया सुप्रिना दोङ ले पनि सर्पको टोकाइबाट ज्यान गुमाएकी थिइन्। लगातार दुई बालिकाको मृत्यु भएपछि स्थानीय समुदायमा त्रास फैलिएको छ भने नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालन गर्नुपर्ने माग चर्किएको छ।
दुई बालिकाको मृत्युले नगरवासीलाई गम्भीर बनाएको छ। स्थानीयवासीले सर्पदंशजस्तो आकस्मिक अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन नसक्नु दुःखद भएको बताउँदै नगर अस्पतालमा तत्काल एन्टिभेनम (सर्पको विषविरुद्ध प्रयोग हुने औषधि) सहित उपचार सेवा सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार सर्पले टोकेपछि बिरामीलाई अन्यत्र लैजानुपर्ने अवस्था हुँदा बहुमूल्य समय खेर जाने र त्यसकै कारण धेरैले ज्यान गुमाउने गरेका छन्।
घटनापछि सामाजिक सञ्जालमा पनि नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न ढिलाइ भएको भन्दै जनप्रतिनिधि र स्थानीय सरकारको आलोचना भइरहेको छ। तर उपमहानगरपालिकाले भने आफूहरूले लामो समयदेखि सेवा सञ्चालनका लागि आवश्यक अनुमति र प्राविधिक सहयोग माग्दै आएको दाबी गरेको छ।
जनस्वास्थ्य अधिकृत रविकुमार भाष्करका अनुसार उपमहानगरपालिकाले २०८० साल पुस महिनामै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई औपचारिक रूपमा पत्राचार गरी नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न अनुमति मागेको थियो। तर आवश्यक भौतिक पूर्वाधार, एन्टिभेनम सुरक्षित रूपमा भण्डारण गर्ने व्यवस्था तथा दक्ष स्वास्थ्यकर्मीको अभाव देखाउँदै अनुमति नदिइएको उनले बताए।
उनका अनुसार पछिल्ला दुई बालिकाको मृत्युले परिस्थितिको गम्भीरता झनै उजागर गरेपछि उपमहानगरपालिकाले पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल सेवा सञ्चालनका लागि आवश्यक अनुमति, औषधि, उपकरण तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार सर्पदंशका बिरामीको उपचारमा पहिलो एकदेखि दुई घण्टा अत्यन्तै महत्वपूर्ण मानिन्छ। समयमै एन्टिभेनम उपलब्ध गराउन सकिए अधिकांश बिरामीको ज्यान बचाउन सकिने भए पनि उपचारमा ढिलाइ हुँदा विष शरीरभर फैलिने र ज्यान जाने जोखिम बढ्ने गर्दछ। त्यसैले सर्पदंश बढी हुने क्षेत्रमा स्थानीय अस्पतालमै उपचार सेवा सञ्चालन गर्नु अत्यावश्यक रहेको उनीहरूको भनाइ छ।
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सुरु भए स्थानीयवासी मात्र होइन, आसपासका पालिकाका नागरिकले पनि प्रत्यक्ष लाभ पाउने जनाएको छ। साथै, वर्षेनी सर्पदंशका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्न यो सेवा प्रभावकारी हुने विश्वास उपमहानगरपालिकाको छ।